काठमाडौँ, १९ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुमा पनि छानबिन गर्ने बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरुमा पनि छानबिन गर्ने बताए ।
उनले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणको निष्पक्ष तरिकाले छानबिन गरिरहेको बताए । उनले सरकारले आफ्ना नजिककालाई बचाउने र अर्काका मान्छेलाई कारबाही गर्ने नीति नलिएको स्पष्ट पारे । सरकारले निर्दोष नपर्ने र दोषि नउम्किने गरी काम गरिरहेको स्पष्ट पारे ।
मन्त्री मोदीले स्थानीय तहहरु निमित्तको भरमा चलाउने कुराको अन्त्य गर्न लागेको बताए । उनले मधेस प्रदेशमा अब कतैपनि निमित्तको भरमा स्थानीय तह नचलेको बताए । हाल देशभरमा करिव ९० स्थानमा निमित्तको भरमा चलिरहेको भन्दै त्यसको पनि क्रमशः अन्त्य गर्दै जाने बताए । उनले कर्मचारीहरुको सरुवा मेरिटको आधारमा गर्ने पनि बताए ।
मन्त्री मोदीले आफू अनुकुलका कर्मचारीहरुलाई सरुवा गर्नका लागि राजनीतिक तहबाट र स्थानीय जनप्रतिनिधिहरुबाट पनि दबाब आउने गरेको भन्दै त्यसो नगर्न आग्रह गरे । आफू अनुकुलका कर्मचारीलाई सरुवा गर्दा देशमा सुशासन कायम हुन नसक्ने उनको भनाइ छ ।
