काठमाडौं, २० साउन । नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यहरुले माग गरेका छन् । केन्द्रीय कमिटी बैठक चौथो दिनसम्म आइपुग्दा बैठकमा बोल्ने सदस्यहरुले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गरि दोषि देखिए कारबाही गर्न माग गरेका हुन् ।
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम भेपमा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरुले महराप्रति पनि छानबिन हुनुपर्ने बताएका छन् । पार्टी भित्रका नेताहरुमा सुशासन कायम गराउन नसकेमा बाहिर पनि गराउन नसकिने भन्दै नेताहरुले पार्टीभित्रैबाट सुशासनप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।
बैठकस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै केन्द्रीय सदस्य माधव सापकोटाले बैठकमा सुशासनको सम्बन्धमा गम्भिर छलफल भइरहेको बताए । उनले नेताहरुको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरुमाथि पनि प्रश्न उठेको बताए । पार्टी उपाध्यक्ष महराको सम्बन्धमा मिडियामा आउने बित्तिकै पक्राउ गर्ने कानूनी व्यवस्था नभएको भन्दै उनले अनुसन्धानको दायरामा ल्याउनु पर्ने गरी कुनै उजुरी नआएको बताए । यद्यपी कोही नेताहरुको संलग्नता यस्तो प्रकरणमा संलग्न भएको देखिएमा कारबाही गर्ने प्रधानमन्त्रीले बचन दिएकोले सो बचनमा विश्वास गर्नुपर्ने बताए ।
त्यस्तै, केन्द्रीय सदस्य नारायणी शर्माले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दा पार्टी भित्रकै मान्छेहरु परेपनि छोड्नु नहुने बताइन् । अनुसन्धानमा दोषी देखिए कारबाही गरेर अघि बढ्नुपर्ने उनले बताइन् । उनले उपाध्यक्ष महराको सम्बन्धमा प्रश्न उठेको भन्दै सम्बन्धित निकायले आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेकोमा विश्वास व्यक्त गरिन् । सबुत, प्रमाण फेला परेका कसैलाई पनि सरकारले नबचाउने उनले स्पष्ट पारिन् ।
केन्द्रीय सदस्य रामकुमार शर्माले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्न फाइल खोलिसकेपछि पछि हट्नु नहुने बताए । उनले आफ्नो अर्काको मान्छे हेरेर कारबाही गर्ने होइन कि पार्टी भित्रकै मान्छे दोषी देखिए पनि कारबाही गर्नुपर्ने बताए । उनले सुन प्रकरणमा नाम जोडिएका नेताहरुले पनि आफूमाथि छानबिन गर्न बैठकमै माग गरेको जानकारी गराए ।
