ताप्लेजुङ । कोशी प्रदेशको नाम खारेजी, लिम्बुवान राज्यको घोषणालगायतको माग राख्दै राष्ट्रिय जनमुक्ति लगायतका दलले गरेको बन्दका कारण आज कोशी प्रदेशका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण यातायातका साधन ठप्प भएका छन् भने बजार क्षेत्र पनि प्रभावित भएको छ । शैक्षिक संस्थाहरु पनि बन्द भएका छन् । विक्रम सम्वत १८१४ साउन १८ गतेको लिम्बुवान र गोर्खा राज्यबीच भएको ताम्रपत्र सन्धिलाई लत्याउँदै १८३१ साउन २२ गते भएको लालमोहर सन्धी धोकापुर्ण भएको भन्दै यी दलले २०६६ सालदेखि साउन २२ गते बन्दको आह्वान गर्दै आएका छन् । उनीहरुले अरुण पूर्वका नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, संखुवासभा, सुनसरी र मोरङ लिम्बुवान रहेको र लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग गर्दै आएका छन् ।
जनमुक्ति पार्टीका साथै संघीय लिम्बुवान पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति (लोसपा) किराँत खम्बुवान राज्य परिषद्, किरात लिम्बुवान राज्य परिषद् र लिम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रुपमा बन्द आह्वान गरेका हुन् । अरुण पूर्व लिम्बुवान राज्य नभएसम्म हरेक वर्षको साउन २२ गते यसरीनै बन्द रहने जनमुक्ति पार्टी ताप्लेजुङका अध्यक्ष इन्द्र थलुले जानकारी दिए ।
बन्दको दिन एम्बुलेन्स कुटनीतिक नियोग, प्रेस, मलामी र परीक्षार्थी बोकेको गाडीबाहेक अन्य सवारी चल्न नदिने र बजार, यातायात, शैक्षिक संस्था कलकारखाना बन्द गराइने उल्लेख छ ।
