काठमाडौं, २२ साउन । प्रमुख तीन दलका शीर्ष नेताहरुको प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा सोमबार बसेका दुई वटा बैठकबाट निष्कर्षमा पुग्न नसकेपछि मंगलबार फेरि अर्को बैठक बोलाइएको छ ।
सभामुख देवराज घिमिरेका अनुसार मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बस्ने गरी शीर्ष नेताहरुको बैठक बस्ने तय भएको छ । सभामुख घिमिरेले भनेका छन्, ‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ ।’
शीर्ष नेताहरुका बीचमा सहमति नजुटेपछि सोमबार दिउँसो १ बजेका लागि बोलाइको प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे सम्मतका लागि सूचना टाँसेर स्थगित गरिएको थियो ।
शीर्ष नेताहरु सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मध्यान्ह १२ बजे र दिउँसो साढे ३ बजे नयाँ बोनेश्वरस्थित संसद भवनमै छलफलमा बसेका थिए । कुनै सहमति नभएपछि प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसा ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
