पोखरा ३ भदौ/ कास्कीमा झन्डै २५ लाख रुपैयाँको प्रतिबन्धित लागुऔषध प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार ५ जनाको साथबाट उक्त रकम बराबरको लागुऔषध नियन्त्रणमा लिएको हो ।
झन्डै १० लाख रुपैयाँ बराबरको लागूऔषधसहित कास्कीको माछापुच्छ्रे गाउँपालिकाका सुरजज्यू ठकुरी र पोखरा महानगरपालिकाका आशिक पौडेललाई पक्राउ गरेको सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए । शनिबार न्युरोडबाट नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
डिएसपी विकका अनुसार बुप्रिनर्फिन ३८७ एम्पुल, फेनेरागन ३८५ एम्पुल, डाइजेपाम ३८७ एम्पुल र नाइट्रोभ्याट २०५ चक्की बरामद गरेको हो । ग २ च १७६७ नम्बरको टाटा टेल्कोलाइन गाडी र उनीहरुले प्रयोग गरेको २ थान मोबाइलसमेत बरामद भएको छ।
शनिबार नै अफिमसहित ३ जना पक्राउ परेका छन्। रुकुमपूर्वबाट पोखरा ल्याइएको ५ किलो ७ सय ग्राम अफिमसहित ३ जनालाई पक्राउ गरेको डिएसपी विकले जानकारी दिए ।
पक्राउ पर्नेमा रुकुम पूर्वका रुकुम पुथाउत्तरगंगा गाउँपालिका–२ का ४१ वर्षीय दिपेश पुन, वडा नम्बर १ का ४० वर्षीय विराज पुन र बागलुङको निसीखोला गाउँपालिका– ५ का ४६ वर्षीय तेजेन्द्रबहादुर पुन रहेका छन्।
जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
