गैंडाकोट । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले नेपाली काग्रेस पार्टीलाई गैंडाकोटबाट उर्जा प्राप्त हुने बताउनु भएको छ । उहाँले पुर्व पश्चिम राजमार्गको बाटो हुँदै बसमा बसेर यात्रा गर्दैगर्दा गैंडाकोट आउने बित्तिकै देशैभरीका प्रत्येक कांग्रेसी कार्यकर्ताहरूलाई उर्जा प्राप्त हुने धारणा व्यक्त गर्नुभयो ।

२०५४ सालमा कमरेड बामदेव गौतम गृहमन्त्री छँदा हाईवेमा रहेका सवै पालिकाहरूको चुनावमा कांग्रेसले गुमाउँदै गर्दाको प्रतिकुलतामा पनि गैंडाकोटले जितेको थियो । महामन्त्री शर्माले भन्नुभयो – गैंडाकोटको बाटोबाट गाडीमा गुज्रीदै गर्दा पनि एउटा उर्जाको अनुभुति हुन्छ । किनभने गैंडाकोटमा उर्जाले भरिएका साथीहरू हुनुहुन्छ । उर्जा सँगै यहाँको कांग्रेसमा गुनासो पनि छ, नेतृत्व गर्ने क्षमता पनि छ र उत्साह पनि छ ।त्यसकारण यहाँको उर्जालाई अन्यत्र वितरण गर्न आवश्यक छ – उहाँको भनाई थियो ।
महामन्त्री शर्माले बुटवलदेखि गैंडाकोटसम्म निर्माणाधिन पूर्व पश्चिम राजमार्गको निर्माण प्रकृया गलत भएका कारण धेरैले दु:ख भोग्नु परेको स्पष्ट पार्नुभयो । ३० किमी दुरीमा वाटो निर्माण गरिसकेपछि मात्र अर्को ३० कि मी भत्काउनु पर्दथ्यो, एकैनासले पुरै भत्काउँदा जनताले सास्ती भोग्नु परेको छ । यसबारे आफ्नो पालो आएपछि सदनमा कुरा उठाउने जिकिर गर्नुभयो ।
महामन्त्री शर्मा बुधवार नेपाली कांग्रेसको नगर कार्यसमितिको सम्मेलनमा सहभागी हुन गैंडाकोट आउनु भएको थियो ।
उहाँले पार्टीका कार्यकार्ताहरुलाई सम्बोधन गर्दै सानो तिनो प्रतिकुलतामा कांग्रेसी कार्यकर्ताहरु निरास हुन नहुने सुझाव दिनुभयो । तनहुँमा चुनाव हार्दैमा कांग्रेस सक्कियो भन्ने हुँदैन । यसले त झन अब कस्सिएर लागि पर्नुपर्छ भन्ने पाठ सिकाएको छ । त्यै करणले म हिजो पाल्पा र रुपन्देही हुँदै आज गैंडाकोट आईपुगेको छु । त्यसकारण यस्ता प्रतिकुलताबाट शिक्षा लिएर क्रियाशील भएमा सफलता हासिल हुने महामन्त्री शर्माले बताउनुभयो ।
उहाँले कांग्रेसले केही गरेन भनेर अहिले युवाहरुले भन्ने गरेको प्रशंग उठाउँदै सहज रूपमा पासपोर्ट बनाउन पाउनु, भरतपुरको क्यान्सर हस्पिटल निमाण गर्नु भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भनेर कडा कानुनहरु बनाउनु आदि सबै कांग्रेसकै कारण सम्भव भएको स्पष्टीकरण दिनुभयो । कांग्रेसलाई कारखानाहरू बेचेको आरोप लगाइन्छ, तर एउटा बासबारी छाला जुत्ता कारखाना बेचेर सैयौ नीजि जुत्ताचप्पल कारखाना खोल्ने वातावरण बनाउन कांग्रेसले पहल गरेको बिर्सन नहुने उहाँको भनाई थियो ।
कार्यक्रममा जिल्ला कमिटिका कार्यबहाक सभापति चन्द्रबहादुर राना र प्रदेश महामन्त्री बिष्णुप्रसाद लामिछानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नगर उपसभापति रोशनभक्त अधिकारीको स्वागत मन्तव्य रहेको नगर सम्मेलन नगर सभापति बद्री सापकोटाको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन सचिव गोविन्द घिमिरेले गर्नुभएको थियो ।
