दाङ, २२ भदौ । नेशनल प्याव्सन दाङको अधिवेशन शुरू भएको छ । प्याव्सन दाङका अध्यक्ष बिमल गौतमको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा छैठौं जिल्ला अधिवेशनको उद्घाटन गरिएको हो ।
अधिवेशनको उट्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले शिक्षाले नै जीवन परिवर्तन गर्ने भएकाले शैक्षिक उपलब्धिमा जोड दिनुपर्ने बताइन् । उनले संस्थागत विद्यालयले शिक्षामा महत्त्वपूर्ण भूमिका खेलेको बताउदै संस्कार सहितको शिक्षामा जोड दिन आग्रह गरिन् ।
त्यस्तै कार्यक्रममा नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कुँवरले सामाजिक सुरक्षाकोषमा सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतले पढ्ने संस्कारको विकास गराउनुपर्ने बताए । संस्थागत विद्यालयले शैक्षिक उपलब्धिमा राज्यलाई सहयोग गरेको भन्दै उनले तुलसीपुरलाई शिक्षाको हब बनाउनुपर्ने उनले बताए ।
कार्यक्रमको सहजीकरण सचिव ठाकुरप्रसाद डाँगीले गरेका थिए ।
