सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु हटेको छ । कर्फ्यु हटेपनि भदौ २७ गतेसम्म कुनैपनि किसिमका भेला, आमसभा गर्न रोक लगाइएको छ ।
कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासनले शनिबार कर्फ्यु जारी गरेको थियो। शनिबार अपराह्न ५ बजेदेखि आज बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यु आदेश हटेको हो । कर्फ्यु हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ । यातायात सेवासमेत सुचारु हुँदै गएको छ ।
शुक्रबार कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो । त्यसक्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर गरेको थियो ।
शनिबार पनि बिहानैदेखि मलंगवामा प्रदर्शन र ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले सर्वपक्षीय भेला बोलाएर सद्भाव कायम राख्न अपिल गरेको थियो ।
प्रशासनको अपिल पछि पनि प्रदर्शन नरोकिएपछि कर्फ्यु जारी गरिएको थियो । आज बिहान कर्फ्यु हटेसँगै स्थानीय प्रशासनले आगामी २७ गते (बुधबार) राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । यस अवधिमा मलंगवा नगर क्षेत्रभित्र कुनै पनि प्रकारको भेला, जुलुस, बैठक वा प्रदर्शन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाएका छन् ।
