काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बोलाइएको छ । असार २२ गते चालु आर्थिक वर्षको बजेट पारित गरेपछि प्रदेश सभाको बैठक दुई महिनापछि बस्न लागेको हो । तर यसअघि पटकपटक तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएकाले आजको बैठक पनि विपक्षी दलहरुले चल्न दिनेमा द्वविधा देखिएको छ ।
सरकारले ल्याएको बजेटमाथि असन्तुष्ट एमाले र राप्रपासँग सहमति गरेर सरकारले सदनबाट बजेट पास गराएको थियो । बजेट पास भइसक्दासमेत प्रतिपक्षसँगको सहमति बेवास्ता गरेको भन्दै एमाले र राप्रपा रुष्ट बनेका छन् ।
सरकारले विगतको प्रतिबद्धता पूरा गरेमात्रै सदन चल्न हुन दिने एमाले संसदीय दलका नेता जेएन थपलियाले बताए । सरकारले सदन सञ्चालनका लागि विपक्षीको माग सम्बोधनमा सकारात्मक रहेको बताउँदै आएको छ भने विपक्षी दलहरू कार्यान्वयनको चरणमा नगएसम्म सदन चल्न नदिने अडानमा रहेका छन् ।
प्रदेश सभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर सहमति जुटाएपछि बैठक सुरु गर्ने तयारी छ । आजको बैठकमा सरकारले स्वास्थ्य र सूचनासम्बन्धी विधेयक दर्ता गर्ने तयारी गरेको छ ।
