काठमाडौं २५ भदौ/ अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजबिक्रम नेम्बाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरिएको छ । एन्फामा अबद्ध ४९ सदस्य संघ तथा क्लबले अध्यक्ष नेम्बाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका हुन् ।
सदस्यहरूले एन्फाको विधान धारा ३६ ९३० अनुरुप एन्फाका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष साधारणसभा बोलाउनका लागि निवेदन दिएको बताएका छन् । विशेष साधारणसभामा अध्यक्ष नेम्बाङ र महासचिव राईलाई बर्खास्त गर्ने एजेन्डा राख्न उनीहरूले लेखेको निवेदनमा उल्लेख छ ।
४० प्रतिशत सदस्यको निवेदनपछि अब २३ असोजसम्ममा विशेष साधारणसभा बोलाउनु पर्ने एन्फाको विधान उल्लेख छ। एन्फाले साधारणसभा नबोलाएमा आफूहरुले साधारणसभा आह्वान गर्ने पनि सदस्यहरुले लेखेको निवेदनमा उल्लेख छ । साधारणभामा दुई तिहाइ मत पुगेको अवस्थामा मात्र बर्खास्त हुन सक्ने प्रावधान छ ।
उनीहरुले एन्फाका अध्यक्ष र महासचिव नेपाली फुटबललाई धरासयी बनाउन उद्दत रहेको र उनीहरु पदमा रहे नेपाली फुटबलको भविष्यमा नै क्षति पुग्ने निवेदकको आरोप छ ।
उनीहरुले अध्यक्ष र महासचिवमाथि १९ आरोप समेत लगाएका छन् । जसमा विशेष साधारणसभा भर्चुअलमार्फत गर्न आह्वान गरेको, बजेट पास नगरी अनाधिकृत रुपमा बिनाआवश्यक अख्तियारी आर्थिक करोबार गरेको, बोर्ड बैठकबाट अवैधानिक निर्णय गरेको लगायतका छन् ।
गत वर्षको आसारमा अध्यक्षमा निर्वाचित भएदेखि नै नेम्बाङ अल्पमतमा परेका थिए । पूर्वअध्यक्षद्वय कर्माछिरिङ शेर्पा र गणेश थापा पक्षका सदस्यको बहुमत हुँदा अध्यक्ष नेम्बाङले कार्यसमितिबाट विभिन्न निर्णय गराउन सकस पर्ने गरेको छ ।
