काठमाण्डौं ।
संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । मंगलबार बिहान निधन भएका नेम्वाङकाे आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिन लागेकाे हाे ।
परिवारजनका अनुसार नेम्वाङकाे अन्त्येष्टि लिम्बू संस्कार अनुसार गर्न लागिएकाे छ । दिवंगत नेम्वाङका भाइ आनन्द नेम्वाङका अनुसार लिम्बू परम्परामा अन्तिम संस्कार दुई किसिमले हुन्छ । कसैले शव जमिनमा गाडेर त कसैले घाटमा जलाएर अन्तिम संस्कार गर्ने चलन रहेकाे उनले बताए ।
नेम्वाङकाे हकमा भने शव जलाएर अन्त्येष्टि गरिने उनले बताए । 'हाम्राे (लिम्बूहरूकाे) आफ्नै धार्मिक प्रक्रिया हुन्छ ।फेदाङ्बा (पुरोहित)ले विधिअनुसार अन्तिम संस्कार गराउने चलन छ । कसैले जमिनमा गाड्ने गर्दछन् भने केही समुदायले जलाउने गर्छ । हाम्राे हकमा जलाउने निर्णय गरेका छाैँ । बागमती नदी (पशुपति आर्यघाट)मा लगेर जलाउने कार्यक्रम राखेका छौँ', उनले भने, 'सरकारले राजकीय सम्मान दिने भनेकाे छ । त्यसमा पनि हामी सहभागी हुन्छाैँ ।'
अन्तिम संस्कारपछि महिलाको हकमा तीन दिनमा र पुरुषका हकमा चार दिनमै चोखिने चलन भए पनि ४५ दिनमा चाेखिने चलन पनि रहेकाे उनले बताए । 'कति दिनमा चाेखिने कार्यक्रम राख्ने भनेर सल्लाह गरिरहेका छाैँ', आनन्दले भने ।
बुबाकाे अन्तिम संस्कारमा सहभागी हुन नेम्वाङका दुई छाेरा विदेशबाट हिजै काठमाडाैं आइसकेका छन् । छाेराहरू आउन समय लागेका कारण निधन भएकाे दुई दिनपछि अन्तिम संस्कार गरिन लागेकाे हाे ।
मंगलबार बिहान हृदयाघातका कारण नेम्वाङकाे निधन भएकाे थियाे । निजी निवासकाे शाैचालयमा बेहाेस भेटिएका उनलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले मृत घाेषणा गरेका थिए ।
साेही दिन बसेकाे मन्त्रिपरिषद् बैठकले नेपालकाे लाेकतान्त्रिक आन्दाेलन र संविधान निमार्णकाे खेलेकाे भूमिकाकाे कदर गर्दै नेम्वाङकाे राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे ।
