तुलसीपुर, ५ असोज । तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका – १३ बखरियाका ३४ बर्षीय रणदेब बस्नेत रहेको प्रहरीले बताएको छ । बस्नेत माथि गएराती तुलसीपुर–५ बसपार्कमा खुकुरी प्रहार भएको थियो ।
खुकुरी प्रहार बाट बस्नेतको हातको नाडीमा गहिरो घाउ खत लागेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार चिकित्सकले घाइते बस्नेतको नाडीको नसापनि काटिएको जानकारी दिएका छन् ।
घाइते बस्नेतलाई राति नै थप उपचारका लागि बाँके रिफर गरिएको थियो ।
बस्नेतमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तुलसीपुर – १० राइखलियानका २८ बर्षीय राममणी चौधरीलाई प्रहरीले राती नै पक्राउ गरेको थियो ।
सोही घटनामा संलग्न रहेका तुलसीपुर – ६ सुकौरा रोड बस्ने २७ बर्षीय नबिन परियारलाई शुक्रबार बिहान घोराही उपमहानगरपालिका – १० नारायणपुरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका दुबै जना बिरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाउने तयारी प्रहरीको छ ।
