काठमाडौं २५ असोज/ व्यक्ति हत्या गरेर हुलिया परिवर्तन गरी साधु बनेका १ जना व्यक्ति १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२८ घर भएका ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईं छन् ।
प्रहरीका अनुसार तोयानाथले २०६१ मंसिर १४ गते हजुरआमा नाता पर्ने मनकुमारीको हत्या गरेका थिए । राति सुतेको अवस्थामा हजुरआमा वाग्लेलाई बाँसको लौरो र ढुंगाले टाउकामा प्रहार गरी उनका गरगहना लुटेका थिए । घाइते बनाएर गहना लुटेर घरको ढोकामा बाहिरबाट ताला लगाएर उनी फरार भएका थिए । हजुरआमाको हत्या गर्दा उनी २४ वर्षका थिए। घटनाको १९ वर्षपछि ४३ वर्षको उमेरमा तोयानाथलाई प्रहरीले पक्राउ गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सूचनाको आधारमा चितवन प्रहरीले उनलाई नवलपरासीको बर्दघाटबाट पक्राउ गरेको हो । उनलाई असोज २२ गते साँझ ५ बजेतिर बर्दघाट नगरपालिका–४ बाडी पीडितस्थित शिव मन्दिरबाट पक्राउ गरेको हो। उनी उक्त मन्दिरमा साधुको भेषमा बस्दै आएका थिए ।
