- देवेन्द्र बस्नेत
दाङ,पुस १३ । सत्तापक्षीय गठबन्धन तोडिएला कि भन्ने त्रास । केपी ओलीसंग ‘सिगौँरी’ खेल्दै ‘एमाले —घर’ छोडेका माधव कुमार नेपाल आफू र आफ्नो ‘नयाँ घर’ नेकपा (एस) लाई कसरी बलियो बनाउने भन्ने पिरलो उत्तिकै छ । एमालेसंग सम्बन्ध बिच्छेद गर्दै त्यहाँको सानो ‘हिस्सा’ बोकेर फरक ‘घरजम’ गर्ने निर्णयमा पुगेका नेपाललाई एमाले भन्दा ठूलो ‘घराना’ को ‘घरमुली’ बन्ने रापले तताईरहेको छ ।
फलतः उनको भाषण सधैँजसो यही हुन्छ ‘एमाले पत्तासाफ हुन्छ ।’ एमालेको ‘पत्तासाफ’ को कामना गरिरहेका नेपालको भाषणको यो ‘टुक्रा’ ले ओली भन्दा आफू ठूलो नेता र एमाले भन्दा आफ्नो पार्टी नेकपा (एस) बन्ने धम्की बोलिरहेको छ नै ।
सत्तारुढ गठबन्धनका एक सारथी नेपालमा देखिएको ‘दम’ को मुख्य कारण यहि गठबन्धन नै हो । गठबन्धन भए आगामी चुनावमा ‘आफ्नो हिस्सा’ केहि आउने र एमालेलाई एकल हार ब्यहोर्ने निश्चितता प्रति शंकास्पद छैनन् नेपाल । सिंगो गठबन्धनको जीतलाई पनि आफ्नै जीतका रुपमा हर्षोल्लास मनाउने ‘सपना’ मा भुलिरहेका नेपाल फलतः यो सुन्दर सपना ‘भताभुंग’ नहोओस् भन्ने कामना गरिरहेका छन् ।
त्यसोत, नेपाल यहि गठबन्धनकै भरमा मात्रै आफूलाई ठूलो दलको नेता बनाउने प्रयासमा भने छैनन् । आफ्नै आन्तरिक शक्तिलाई बलियो बनाएर केपी ओली सामु ‘ठूला राजनीतिक शत्रु’ बनेर उभिने प्रयत्न पनि गरिरहेकै छन् । फलतः सानो दलको ‘नाम’ संग ‘एकीकरण’ गरेर ठूलै प्रचारबाजी गरिदिए । ठूलो दल बनाउने सपना देखेका नेपालले मंगलबार सानो ‘गठजोड’ गरेका छन् । नेकपा (एस) र नेकपा (जनवादी) पार्टी बिच मंगलबार एकता घोषणा गरिएको छ ।
आफ्नो दललाई मजवुत बनाउन सानो ‘फेरो’ समातेर माथि उक्लने प्रयास थालेका नेपालका सामु मंगलबार जोडिएको शक्तिले ठूलै नेपालको राजनीतिमा ‘कायापलट’ त नआउला , तथापी नेपालले आफूलाई जोड्दै लैजाने सुखद सुरुवात गरेको भने मान्न सकिन्छ । त्यसोत, नेपालले नेकपा एस निर्माणको लक्ष पनि बामघटकहरुलाई एक सूत्रमा बाँध्ने बचन दिएका थिए ।
बाम बिचार बाट ‘बिमुख’ भैसकेको भनेर ओली माथि आक्षेप लगाउँदै आएका नेपालले बाम एकताको सूत्रधारका रुपमा आफूलाई उद्घोष गरेकै हुन् ।
त्यसैको सानो उदाहरणका रुपमा मंगलवारको उनको पार्टी एकतालाई मान्न सकिन्छ । तथापी सानो दलसंगको एकतालाई मात्रै सम्पूर्ण बाम एकताको रुपमा पूर्णतः अथ्र्याउन भने सकिन्न ।ठूला साना सबै बाम राजनीतिक दलहरुका सामु कस्तो खालको एकताको प्रयासमा नेपाल रहन्छन् भन्ने मुख्य प्रश्न हो । एमाले बाहेकका अन्य बाम राजनीतिक दलहरुलाई एकताको सूत्रमा बाँध्न सके नेपाल बाम एकताका ‘पर्याय’ रुपमा चिनिने त छन् नै, संगै आफ्नो पुरानो दल एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई आफूले ठूलो शक्तिको ‘रवाफ’ दिन सक्नेछन् । अनि अहिले जस्तो गठबन्धन भत्कने पिरलोमा नेपाललाई रहनु पर्ने छैन ।
