दाङ १३ कात्तिक/ जिल्ला प्रहरी कार्यालय दाङले अस्पतालबाट फरार भएका अभियुक्तलाई दुई घण्टा नबित्दै पक्राउ गर्न सफल भएको छ । सोमबार बिहान १० बजेको समयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट फरार भएको अभियुक्त विवेक नेपालीलाई पौने १२ बजेको समयमा पक्राउ गर्न सफल भएको हो ।
नेपालीलाई स्वास्थ्य परिक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको समयमा शौचालय जान्छु भनेर फरार भएका थिए । फरार भएको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लको कमान्डमा खटिएको टोलीले उनलाई घोराही उपमहानगरपालिका वडा नम्बर १८ रझेनामा झाडीमा लुकेको अस्थामा फेला पारी पक्राउ गरेको डिएसपी मल्लले तेस्रो आँखालाई जानकारी दिए ।
अहिले उनलाई जिप्रकाको हिरासत कक्षमा राखिएको छ । पक्राउ परेका नेपाली केही दिनअघी मोबाइल चोरीको अभियोगमा पक्राउ परेका थिए ।
