म्याग्दी । चार वर्षपछि पुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको नेपालतर्फ सुरक्षाकर्मीहरूको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ । लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा कन्टेनर सुविधाको पूर्वाधार संरचना तयार गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले २० फिट लम्बाइ र दश फिट चौडाइका झ्याल र ढोका भएका सिसाबाट बाहिर हेर्न सकिने पाँच प्रिफेव कन्टेनर जडान गरिएको जानकारी दिए ।
“कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन् । नेपालमा थिएन । चार हजार मिटरभन्दा बढी उचाइको नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुुरोधमा चीनले प्रिफेव कन्टेनर उपलब्ध गराएर जडान गरिएको हो”, उनले भने, “चारवटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन् ।”
मुस्ताङ र चीनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चारपटक वार्ता भएको थियो । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि नाका पूर्णरूपमा बन्द भएको छ । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो ।
नाका सञ्चालनको तयारीका क्रममा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई ‘नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र’ वितरण गरिएको छ ।
“प्रवेशपास भएका नागरिक जुनसुकै समयमा पनि चीन जानेआउने सुविधा पाउनेछन्”, प्रजिअ पन्तले भने, “कोरला नाकाको नजिकै रहेको नेचुुङ भन्सार कार्यालयमा नियमित कर्मचारी उपस्थितिको तयारी गरिएको छ ।”
नेचुङ सशस्त्र प्रहरी बलको (बिओपी) भवन निर्माण भएको छ । जोमसोमबाट कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पा नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो ।
विसं २०५८ सम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए ।
