धनगढी, २ मंसिर । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको जानकारी दिए । स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको बताउँदै एसपी पालले धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए ।
आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोलीसमेत परिचालन गरिएको थियो । आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।
आगलागीबाट क्षति भएका पसलहरूमा भण्डारी जनरल स्टोर एण्ड सुसेन्टर, मधुमाला देवी सप, भट्ट सपिङ्ग सेन्टर, सुभिक्षादेवी सपिङ्उ सेन्टर, न्यु सदीक्षा इन्टरप्राईजेजी, भण्डारी सुसेन्टर, सारथी अस्पताल कैलाली र भट्ट ट्रेडर्स एण्ड सप्लायर्समा क्षति भएको हो । यी सबै पसलहरु गोदाम तथा होलसेल पसलहरु रहेका छन् ।
