काठमाडौं । २२ वर्षमा लागत इस्टिमेटभन्दा चारगुणा बढीमा सम्पन्न भएको मेलम्चीको खानेपानी आउन यस वर्ष पनि अन्योलका साथ समय लाग्ने भएको छ । दुई वर्षअघिको मेलम्ची बाढीले प्रमुख सुरुङमार्ग थुनिएपछि अस्थायी संरचना बनाएर सञ्चालनमा आएको आयोजनामा यस वर्षको बाढीले पुनः क्षति पु¥याएपछि अन्योलता बढेको हो ।
तत्पश्चात् ११ वैशाख २०७९ मा अस्थायी रूपमा फेरि मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो । बाढीबाट क्षति हुन नदिन भन्दै १७ जेठ २०७९ मा बन्द गरिएको पानी वितरण २३ मंसिरदेखि पुनः सुरु गरिएको थियो ।
वर्षामा हुने क्षतिलाई दृष्टिगत गरी गत जेठदेखि बन्द गरिएको खानेपानी मंसिर महिनामा पनि आउने हो कि होइन भन्ने निक्र्योल हुन सकेको छैन । गत २७ र २८ साउनमा आएको बाढीले पुनः क्षति पुगेपछि अन्योलता बढेकोे हो ।
बहुचर्चित मेलम्चीमा आएको बाढीका कारण क्षतिग्रस्त ठाउँसम्म पुग्ने सडक पनि नभएकाले पानी आउनेमा अन्योलता थपिएको हो । यद्यपि, दुई सातादेखि अस्थायी सडक निर्माणको काम भने थालिएको छ । सडक बनाउन मात्रै पनि एक महिना लाग्ने भनाइ आयोजनाको रहेको छ । बाढीले यस वर्ष क्षति पुगेको सुरुङमार्गको माटो तथा बालुवा पन्छाउन मात्रै १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
