दाङ, १८ मंसिर । रोजगारीको शिलशिलामा छिमेकी देश भारत जाँदै गरेका दाङका एक व्यक्ति सातदिन देखि नेपाल भारत सिमानाका रुपैडिहाबाट सम्पर्क विहीन भएका छन् ।
गत मंसिर ११ गते रोजगारीको लागि भारत जाँदै गरेका दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ६ देवीपुर निवासी ४८ वर्षीय जयप्रकाश वली रुपैडिहा नाकाबाट सम्पर्कविहीन भएका हुन् ।
वली आफ्ना जवाइ शान्तिनगर गाउँपालिका वडा नं. ७ सानो तुलसीपुरका खगेन्द्र केसीसँग भारत हिडेका थिए । रुपैडिहा पुगेपछि भारतको रामपुर जानको लागि बसको टिकट काटेर बाटोमा खानको लागि नास्ता लिन गएको र नास्ता लिएर आउँदा बस छुटिसकेको र जेठान पनि त्यहाँ नभेटिएको उनका जवाइ खगेन्द्रले तीन दिनपछि परिवारलाई जानकारी दिए । जेठानलाई नभेटाएपछि खगेन्द्र भारतको चन्डीगढसम्म खोज्न पुगेका छन् । अहिले पनि उनी भारतमै छन् ।
यसअघि पनि वली रोजगारीको लागि भारतको सिम्ला जाने आउने गरेका थिए । सम्पर्क बिहीन भएका वलीको साथमा मोबाइल नभएको र लेखपढ गर्न पनि नजान्ने भएकाले खोज्न समस्या भइरहेको शान्तिनगर वडा नं. ६ का वडासचिव अनन्त पुनले जानकारी दिए । पुनकाअनुसार भारतमा रहेका आफन्तहरुलाई पनि सम्पर्क गर्दा उनी कतै भेटिएका छैनन् ।
साथै देख्नु र भेट्नु हुने व्यक्तिले +९७७–९८४४९६७२२१ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।
