• ट्रेण्डिङ्ग :
पीडाबाट बाहिर निस्कदै तेस्रो लिङ्गी समुदाय

पीडाबाट बाहिर निस्कदै तेस्रो लिङ्गी समुदाय


  • 4.0K
    SHARES
    • मंसिर २५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.1K Views

    पीडाबाट बाहिर निस्कदै तेस्रो लिङ्गी समुदाय

    अनिता चौधरी-रूपन्देही २५ मंसिर/ कपिलवस्तु वाणगंगा निवासी मुस्कान क्षेत्री शारीरिक रुपले पुरुष हुन् । यद्यपि, उनको हाउभाउ, स्वभाव र व्यवहार सबै महिलाको जस्तै छ । २९ वर्षीया मुस्कान आँखामा गाजल, ओठमा लिपिस्टिक, लामो कपाल छोड्दै, कुर्थामा सजिएर हिँड्दा सुन्दर युवती देखिन्छिन् । मुस्कान शारीरिक रुपले पुरुष भएर जन्मिएता पनि आफ्नो पहिरन र आत्माले आफूलाई तेस्रो लिङ्गी महिला हो, भनेर चिनाउँन रुचाउँछिन् ।

    images

    ११ वर्षको उमेरसम्म उनको बाल्यावस्था अन्य बालबालिकाको जस्तै बित्यो । उनले भनिन्—“हुर्किदै जाने क्रममा मैले बालकमा हुने अनुभूतिभन्दा फरक महसुस गर्न थाले, मेरो स्वभाव, हाउभाउ बालिकासँग मिल्न थाल्यो ।” १२ वर्षको उमेरमै उनले आफू फरक पहिचान भएको व्यक्ति हुँ भनेर थाहा पाइन् । घरपरिवारमा पनि उनको स्वभावका कारण तेस्रो लिङ्गी भन्ने थाहा छ तर, मुस्कान म अल्पसंख्यक समुदायको व्यक्ति हो भनेर खुलेर कुरा गर्न नसकेको बताउँछिन् ।

    उनले पुरुष भएर महिलाको पहिरन लगाउँदा, श्रृङ्गार गर्दा परिवर्तनका लागि परिवारले कुनै पनि प्रकारको दबाब नदिएको सुनाइन् । उनी भन्छिन्–“ शरीर एक र आत्मा अर्को भएर जन्मनुमा न मेरो न मेरो अभिभावकको दोष छ, यद्यपि, यो समाजले ‘छक्का, हिजडा’ भन्दै गिज्याएर जिस्काउँदा मनै खिन्न हुन्छ । ”

    मुस्कान हाल एक्लोलाई सहारा दिने वृक्ष समूह भैरहवाको टिनी एसिस्टेन्ड एवम् साहसी कदम नेपाल रुपन्देहीकी कार्यसमिति सदस्य भएर भैरहवामा कार्यरत छिन् । मुस्कानले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सवालमा आवाज उठाउँदै जाँदा सामान्य परिवर्तन आए पनि अझैँ पनि खुलेर हिँड्न समस्या भएको बताइन । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई परिवार र समाजले सहजै स्वीकार गर्न नसकेको उनको गुनासो छ ।

    नेपालमै पहिलो तेस्रोलिङ्गीको कोरियोग्राफरको रुपमा पहिचान बनाएकी देवदह, रुपन्देहीकी ३५ वर्षीय रेशम न्यौपाने (रेश्मा डार्लिङ) ले पनि आफूलाई तेस्रो लिङ्गी महिला भन्न मन पराउँछिन् । रेशम उर्फ(रेश्मा) ले भन्छिन्—“म बालक जन्मेपछि पुरुष र बालिका जन्मेपछि महिला बन्नुपर्छ भन्ने नेपाली समाजमा जन्मिएको एक बालक हुँ, शरीरको अंग बालक बनेर जन्मिए पनि हुर्कने क्रममा बलसँग होइन, गुडियासँग खेल्न थाले, साथै दिदीबहिनीको भेषभुषासँगै श्रृङ्गारमा पनि रमाउन थाले ।”

    रेशमले कलेज पढ्ने क्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई भेटेपछि आफू सो समुदायको नागरिक भनेर बुझ्न थालेको बताइन । त्यसपछि बुटवलको सम्बन्धित समुदायको संस्थामा आबद्ध भएर बुटवलको डान्सबारमा काम गर्न थाले । परिवारले थाहा पाएपछि समाजमा इज्जत जाने डरले पुरुष भएरै हिँड्न दबाब दिने गरेको उनले सुनाइन् । बुवा आमालाई सम्झाए पनि परिवारका अन्य सदस्यले आफू तेस्रो लिङ्गी महिला भएकै कारण सहजै स्वीकार गर्न नसक्दा केही वर्ष परिवारबाट टाढा बसेर संघर्षशील जीवन बिताएको अनुभव छ, उनीसँग ।

    मोडेल र कोरियोग्राफरको रुपमा सयौँ इभेन्ट गरेर आफूलाई चिनाएका न्यौपानेलाई यो स्थानसम्म आउन निकै कठिनाई भोग्नुप¥यो । यही सिलसिलामा उनी मिस डायमण्ड नेपाल २०१६ का विजेता, नृत्यमा विशेष रुची राख्ने नृत्य निर्देशक (कोरियोग्राफर) को रुपमा काम गर्दै सामाजिक कार्यक्रममा क्रियाशिल रहँदै हाल मानवअधिकार परियोजना लुम्बिनी प्रदेश संयोजक र साहसी कदम नेपाल रुपन्देहीको महासचिव रहेर यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका लागि आवाज उठाउँदै आएकी छिन् ।

    सरकारले आफ्नो सामुदायलाई अगाडि बढाउन पहिचानको आधारमा नागरिकता, हरेक क्षेत्रमा समान समावेशीकरण, स्वास्थ्य, शिक्षा र रोजगारीमा सहभागी गराएर यस समुदायको आवाज सुनुवाइ हुनुपर्ने उनको माग छ । परिवार, समाज, र राष्ट्रबाट नै पछाडि परेको सो समुदायको पक्षमा सर्वोच्च अदालतले पनि थुप्रै आदेशहरु जारी गरेको छ । तर राज्यका निकायबाट त्यसलाई कार्यान्वयन गर्न नसक्दा आफूहरु पीडामा परेको न्यौपाने बताउँछिन् ।

    मुस्कान र रेशम त एउटा प्रतिनिधि पात्र मात्र हुन् । अधिकांश यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका नागरिकलाई परिवार र समाजले स्वीकार गर्न नसकेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी अधिकारकर्मी एवम् साहसी कदम नेपाल रुपन्देही अध्यक्ष आनिक राना मगरको भनाइ छ । तेस्रो लिङ्गी भएकै कारण परिवार र समाजले घृणा, अपहेलना, तिरस्कार र दुव्र्यवहार गर्ने गरेको उनले बताइन् ।

    नेपालको संविधानको धारा १२ मा वंशीय आधारमा लैङ्गिक पहिचानसहितको नागरिकता दिने प्रावधान छ, धारा १८ ले समानताको हक व्यवस्था गरेको छ, कानुनको नजरमा सबै नागरिक समान हुन् भन्ने कुरा उल्लेख गरेको छ भने धारा ४२ ले सामाजिक न्यायको हकको व्यवस्था गरेको छ, तर तेस्रो लिङ्गी समुदायले म पनि यो देशको नागरिक हो भनेर पहिचान पाउन नसकेको अधिकारकर्मी रानाले दःुख व्यक्त गरिन् । मुलुकी देवानी संहिता २०७४ अनुसार विवाह हुनका लागि महिला र पुरुष अनिवार्य गरेको छ । संहितामा विवाहसम्बन्धी व्यवस्थामा पुरुष र माहिलाबाहेक अन्य समुदायले विवाह गर्न नपाउने गरिहाले पनि विवाह दर्ता गर्न नपाउने व्यवस्थाले विवाह गर्न पनि उक्त समुदायलाई रोक लगाइएको छ । नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गरेको छ । तर संविधालाई टेकेर राज्यले कानुन कार्यान्वयन गर्ने वातावरण अझैँ पनि बन्न नसकेको अधिकारकर्मी आनिकले बताउँछिन् ।

    तेस्रो लिङ्गी महिलाको रुपमा पहिचान बनाएकी रानाले यस समुदायको अधिकारका लागि विगत २४ वर्षदेखि लड्दै आएको उल्लेख गरिन । परिवार, आफन्त र समाजले माया नगर्दा, समस्या नबुझ्दा कतिपय साथीहरु मानसिक तनावसँगै आत्महत्या गर्नसम्म पुग्ने गरेको उनले सुनाइन । समाज र परिवारले गर्ने विभेद र जीविका चलाउन रोजगारीको अवसर सुनिश्चित हुन नसक्दा अझैँ पनि धेरै तेस्रो लिङ्गीहरु घरपरिवारकै दबाबले खुलेर बाहिर आउन नसकेको उनको दुखेसो छ ।

    तेस्रो लिङ्गीलाई नागरिकताका लागि स्वास्थ्य प्रमाणिकरण गर्नुपर्ने बाध्यात्मक नीतिलगायत अन्य झन्झटिलो र खर्चिलो नियमलाई परिमार्जन गर्नुपर्ने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको माग छ । नागरिकता लिन लाखौं रुपैयाँ खर्च गर्न नसक्ने भन्दै सो नीतिलाई सच्याइनुपर्नेमा उनीहरुले जोड दिएका छन् । उक्त समुदायले राज्यबाटै विभेद र हिंसा खेप्नुका साथै तेस्रो लिङ्गी नागरिकहरुसँग सीप, क्षमता र शैक्षिक योग्यताको प्रमाणपत्र हुँदा पनि सरकारी एवम् अन्य संस्थामा काम गर्नेदेखि शौचालय जान तेस्रो लिङ्गीलाई अप्ठ्यारो भएको छ ।

    साहसी कदम नेपाल रुपन्देही अध्यक्ष समेत भएकी रानाका अनुसार नेपालको राष्ट्रिय जनगणना २०७९ को तथ्याङ्कले देशभरिमा २ हजार ९२८ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक छन् भने लुम्बिनी प्रदेशमा ४३२ जना रहेका छन् । उनले रुपन्देहीमा यसको संख्या यत्ति नै छ भन्ने निश्चित नभए पनि यस समुदायका व्यक्ति आफूसँग सम्पर्कमा आएको संख्या भने ९ हजार भएको बताइन । अझै  पनि खुलेर भन्न नसकेका कारण यो संख्या जनगणनाको तथ्याङ्कमा भने आउन नसकेको उनी बताउँछिन् ।

    यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारलाई नेपालको संविधानले सम्बोधन गरेको अधिवक्ता इन्दिरा आचार्यको भनाई छ । उनले संविधानमा उल्लेखित हकअधिकारमा कार्यान्वयनको पाटो फितलोे रहेको बताइन । लैङ्गिक अल्पसंख्यक समुदायको पहिचान र नागरिकताको विषय नै पेचिलो बनेको भन्दै अधिवक्ता आचार्यले अधिकार किताबमा त लेखियो तर, जुन हिसाबले ऐन कानुनहरु बन्नुपर्ने थियो, त्यसअनुसार बन्न नसक्दा यो समुदायले अधिकारको अनुभूति गर्न नपाएको उल्लेख गरिन ।

    आचार्यका अनुसार यस समुदायका व्यक्तिहरुमाथि कुनै मुद्दा वा अभियोगमा पक्राउ गर्ने क्रममा पुरुष वा महिला प्रहरीमध्ये कसले पक्राउ गर्ने र पक्राउ परेपछि थुनामा कोसँग वा छुट्टै राख्ने भन्ने विषय अन्यौलमा छन् ।

    अधिकारकर्मी रिमा विसीले पनि नेपालको संविधान २०७२ ले यौनिक तथा अल्पसंख्यक समुदायलाई अधिकारको व्यवस्था गरेको बताइन । संविधानले व्यवस्था गरेका कुराहरु तीन वर्षभित्र कानुन निर्माण गरेर लागु गर्ने व्यवस्था भएबमोजिम कानुन बन्न नसक्दा उनीहरुका सवालहरु नसमेटिएको उनले धारणा राखिन् । समाजमा यौनिक तथा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अनुभूति गराउन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका आवाजलाई उठान गरेर राज्यसम्म जोड्न र स्थानीय सरकारलाई नीति निर्माण, कार्यक्रम तथा बजेट बनाएर यस समुदायको सक्रिय सहभागिता गराउने र अल्पसंख्यक समुदायका सवाललाई पैरवी गर्ने गरिएको उनले जनाइन ।

    यो समुदाय खासगरी लैङ्गिक पहिचानसहितको जन्म दर्ता, नागरिकता तथा राहदानी, विवाह र प्रमाणपत्रको समस्याबाट पीडित छ । परिवार र समाजको अपहेलित व्यवहार सहनुपर्ने भएका कारण हजारौ यौनिक तथा अल्पसंख्यक व्यक्तिहरु आफ्नो पहिचान लुकाउन बाध्य छन् । यो समुदायका व्यक्तिहरुका लागि तिनै तहका सरकारले ध्यान दिन आवश्यक देखिन्छ । नेपालको संविधानले धारा १२ नागरिकताको हक, धारा १८ समानताको हक र धारा ४२ सामाजिक न्यायको हकमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको हक सुरक्षित गरेको छ । संविधानको धारा ३५९४० मा समावेशी र समानुपातिक सहभागिताको विषय उल्लेख छ ।


    तेस्रो आँखा