काठमाडौँ , २९ मंसिर / प्रहरीले भिजिट भिसाका नाममा रकम लिएर नेपालीलाई विदेश पठाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले भिजिट भिसामा मानिसलाई विदेश पठाएको आरोपमा निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र कर्मचारी पदमा रहेका लामालाई पक्राउ गरेको छ। उनीहरुले भिजिट भिसामा ३ सय जनाभन्दा बढी मानिस विदेश पठाएको खुलेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धानका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी मिलन केसीले अध्यागमन अधिकृतलाई सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाएको आरोपमा तामाङ र लामालाई पक्राउ गरेको जानकारी दिए।
प्रहरीले अध्यागमनका कर्मचारीलाई पनि अनुसन्धानको दायरामा समेटेको छ। प्रहरीले मंसिर २७ गते अध्यागमनका अधिकृत नरवीर खड्कालाई यसै सन्दर्भमा पक्राउ गरेको थियो।
प्रहरी उपरीक्षक केसीका अनुसार अनुसन्धानका क्रममा खड्काले नक्कली कागजातका आधारमा प्रतिव्यक्ति ४० देखि ५५ हजार रुपियाँसम्म लिएर विदेश पठाउन सहजीकरण गर्ने गरेको खुलेको थियो।
प्रहरीले थप अनुसन्धानका क्रममा खड्कामार्फत ३ सय जनालाई विदेश पठाएको आरोपमा ट्राभल्सका सञ्चालक तामाङ र कर्मचारी लामालाई पक्राउ गरिएको जनाएको छ।
