काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा मनोनित गरिरहेका छन्। पहिलो चरणमा १० जनालाई मनोनित गरेका देउवाले आज फेरि ३ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन्।
कांग्रेस विधान २१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) को अधिकार प्रयोग गर्दै देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गुरुङ १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । कृष्ण सिटौलानिकट मानिने पौडेल देउवा प्यानलबाट महामन्त्री उठेकोमा पराजित भएका थिए । सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही पनि देउवा प्यानलबाट चुनाव लडेका थिए।
यसअघि हिजो देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
