• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री प्रचण्डको भाइरल फोटो : कान छाम्ने कि कागको पछि दगुर्ने ?

प्रधानमन्त्री प्रचण्डको भाइरल फोटो : कान छाम्ने कि कागको पछि दगुर्ने ?


  • 17.3K
    SHARES
    • पौष ११, २०८० बुधबार
    • २ बर्षs अघि
    • 26.7K Views

    प्रधानमन्त्री प्रचण्डको भाइरल फोटो : कान छाम्ने कि कागको पछि दगुर्ने ?

    काठमाडौं, ११ पुस । सामाजिक सञ्जालमा बुधवार बेलुकीतिर एकाएक एउटा फोटो भाइरल भयो । उक्त फोटोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, स्वकीय सचिव गंगा दाहाल, नातिनी प्रतिभा पाठक र नातिनीज्वाईं लगायतका व्यक्तिहरु देखिएका छन् ।

    images

    उक्त फोटोलाई पोष्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रधानमन्त्री प्रचण्डलाई व्यंग्य, कटाक्ष गरेका छन् । उनीहरुले सरकार गठनको १ वर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डको सम्बोधनलाई समेत जोड्दै सुध्रिने कुनै संकेत नभएको उल्लेख गरेका छन् । 

    आफ्नो फेसबुक वालमा पोष्ट गर्दै रोहित दाहालले यस्तो लेखेका छन्,
    “हिजैमात्र मुम्बईमा प्रचण्डका युद्धकालका सुरक्षागार्डले आत्महत्या गरेको खबरहरु आइरहेका बेला यता यस्तो फोटो सार्वजनिक भयो । सन्तान कम हुँदै गएर के गर्नु ? संसार खान सक्ने एउटै भए पुगिगो नि । जतिसुकै राम्रो काम गरे पनि कार्यशैली नसुधारेसम्म कसैले पत्याउदैनन्, दाहालको नाममा कलङ्क ।”

    फेसबुकमै सिटी पोख्रेल नामक प्रयोगकर्ता यसो लेख्छन् :
    “गणतन्त्रकी जय । प्रधानमन्त्री प्रचण्डले सेनाको हेलिकोप्टर चढेर नवविवाहित नातिनी प्रतिभा पाठक र नातिनीज्वाइँ गोरखाका विज्ञानबाबु रेग्मीको घर पुगेका छन् । यी दुई बीचमा अघिल्लो साता काठमाडौँमा भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो । अनि सुन्नुस तो । उहाँको बारेमा नबोल्नु है, किनभने गणतन्त्र खतरामा पर्छ क्या !!”

    त्यस्तै, भानुभक्त आचार्यले पनि सोही फोटो पोष्ट गर्दै यसरी व्यंग्य कसेका छन् ः
    “छविलाल काका, तिमी सुध्रिन्नौं । कुकुरको पुच्छर १२ बर्ष ढुंग्रामा राखे पनि जस्ताको तस्तै ।”

    प्रायः सबै पोष्टहरुमा व्यंग्यका बान्कीहरु यस्तै यस्तै छन् । खासमा के हो त भाइरल फोटोको वास्तविकता ?

    उक्त फोटो भाइरल भएपछि प्रधानमन्त्रीका फोटोग्राफर प्रदीपराज वन्तले ११ पुस २०८० कै मितिमा बेलुकी ८.४५ बजे प्रेस नोट जारी गरेका छन् । उनले भनेका छन्:

    “बारपाक सुलिकोट गाउँपालिका ताकुकोट र ज्यामिरेघाट, घ्याल्चोक, गोरखामा आयोजित जनतासँग प्रधानमन्त्री अन्तरक्रिया औपचारिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा प्रधानमन्त्रीले भर्खरै नवविवाहित नातिनिज्वाईँको परिवारलाई भेटेको तथा हेलिप्याडमा विदाई गर्दा मैले कैद गरेको तस्बीर लिएको कुरालाई लिएर अतिरञ्जनापूर्ण ढंगले तस्बीरलाई लिएर अनावश्यक भ्रम नछर्न हार्दिक अनुरोध गर्दछु ।
    फोटोग्राफर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय”

    त्यसअघि प्रधानमन्त्रीको सचिवालयको तर्फबाट वन्तले नै बारपाक/सुलिकोटमा सम्पन्न कार्यक्रमको फोटोहरु सम्प्रेषण गरेका छन् । उनले लेखेका छन्, 
    “बारपाक सलिकोट गाउँपालिका गाउँ कार्यपालिका कार्यालय, ताकुकोटमा आयोजित बारपाक/सुलिकोट गाउँपालिका स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।”

    Social Media3.jpg

    Barpak Sulikot3.jpg

    त्यसपछि प्रदीपराज वन्तले अर्को कार्यक्रमको तस्वीर संप्रेषण गरेका छन् । त्यो कार्यक्रम नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी विशेष रुपान्तरण अभियानसँग सम्बन्धित रहेको छ । तस्वीर संप्रेषण गर्दा वन्तले लेखेका छन्:
    “गोरखा ज्यामिरेघाट । घ्याल्चोक, गोरखा नेकपा (माओवादी केन्द्र) गण्डकी गाउँपालिका जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत जनतासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।” 

    Barpak Sulikot1.jpg

    Social Media2.jpg

    यसबाट के प्रष्ट हुन्छ भने आज पुस ११ गते गोरखा जिल्लाका विभिन्न स्थानहरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाने कार्यक्रम थियो । ती कार्यक्रमहरुमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड गोरखा पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयको तर्फबाट फोटोग्राफर वन्तले “औपचारिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा प्रधानमन्त्रीले भर्खरै नवविवाहित नातिनिज्वाईँको परिवारलाई भेटेको तथा हेलिप्याडमा विदाई गर्दा मैले कैद गरेको तस्बीर लिएको कुरालाई लिएर अतिरञ्जनापूर्ण ढंगले तस्बीरलाई लिएर अनावश्यक भ्रम नछर्न हार्दिक अनुरोध गर्दछु” भनेर जारी गरेको प्रेस नोट सत्य सावित हुन्छ ।

    यता, एकजना सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता विमल खड्काले भने उक्त फोटो दुरुपयोग भएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्ः
    “कसरी बन्यो प्रचण्डको तस्बीर भाइरल ?
    वास्तविकता बुझ्दा थाहा भयो, गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ ज्यामिरेघाटमा माओवादी केन्द्रले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधवार अपरान्ह पुगेका रहेछन् । सोही कार्यक्रमस्थल नजिकै प्रधानमन्त्री प्रचण्डको नातिनी–ज्वाइँको घर रहेछ । उनी त्यहाँ पुगेको अवसरमा नातिनीज्वाइँको घरमै पुगेर भलाकुसारी गरेका रहेछन् । भलाकुसारीपछि आफन्तहरू घरबाट सँगै प्रधानमन्त्रीको हेलिकप्टरसम्मै बिदाइ गर्न पुगे भने प्रधानमन्त्रीकै आग्रहमा त्यहाँ पनि फोटो खिचिएको रहेछ । जुन फोटो गोरखाकै एक पत्रकारमार्फत सार्वजनिक भएको रहेछ । कार्यक्रमकै सिलसिलामा निर्वाचन क्षेत्र गएका प्रचण्ड कार्यक्रमस्थल नजिकै आफन्तको घरमा पुगेर फर्किने बेलामा खिचिएको फोटोलाई विषयान्तर गर्नु जरुरी थिएन कि ?

    तर पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु भने प्रधानमन्त्री प्रचण्डको भाइरल फोटो पोष्ट गर्दै व्यंग्य कस्न व्यस्त देखिन्छन् । गल्ती र कमजोरी गरेको हदसम्म त आलोचनाको अर्थ रहला । तर, तथ्यहीन कुराका पछि लागेर हामी कति दिन ‘हावा’ बनिरहने ? कागले कान लग्यो भनेपछि आफ्नो कान छाम्ने कि कागको पछि दगुर्ने ?