काठमाडौं १५ पुस/ जबरजस्ती करणीको कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार उनले यो सुविधा पाउने भएका हुन् ।
जबरजस्ती करणीको कसुरमा लामिछाने दोषी ठहर भए पनि जाहेरवाली किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगिसकेको कारण लामिछानेलाई अधिकतम् १० वर्ष कैद सजाय हुने भएकाले थुनामा बस्नु नपर्ने भएको हो ।
उनले सोबापत हुनसक्ने अधिकतम जरिवाना र कैदबापतको रकम पनि धरौटीमा रहेका कारण उनी थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउनेछन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अनुसार कैदमा नबसी कैद किन्ने सुविधाअन्तर्गत प्रतिदिन ३ सय रुपैयाँका दरले किन्न पनि पाउनेछन् । यद्यपि, सो व्यवस्था एक वर्षभन्दा कम कैद सजाय हुनसक्ने व्यक्तिका लागि मात्रै भए पनि कैदबापतको रकम भुक्तानीको गणना गर्दा सोहीबमोजिम प्रतिदिन ३ सय रुपैयाँका दरले गणना गरिन्छ ।
