काठमाडौँ । बागमती प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
आज भएको एलिमिनेटर खेलमा बागमती प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।
जितको लागि १ सय रनको मध्यम लक्ष्य पछ्याएको सुदूरले १४ दशमलव ३ ओभरमा १ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गरेको हो।
सुदूरपश्चिमको जितमा बिन्दु रावलले अविजित रहँदै सर्वाधिक ५४ रनको योगदान गरिन्। सम्झना खड्काले २१ तथा रुवी पोद्दारले १८ रन जोडिन्।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको बागमती १९ ओभरमा ९९ रनमा अल आउट हुन पुगेको थियो। दोस्रो क्वालिफायरमा भोलि कोशी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ। विजयी हुने टीमले बुधवार उपाधिका लागि एपिएफसँग खेल्नेछ।
