काठमाडौँ । साम्प्रदायिक अशान्ति फैलाएको आरोपमा सिक्किम प्रहरीबाट पक्राउ परेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राई रिहा भएकी छन् । राईलाई सिक्किम प्रहरीले रिहा गरेलगत्तै नेपाल फिर्ता गरेको छ । उनीमाथि लागेको आरोपमाथि भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
डिसेम्बर ३० मा पक्राउ गरी प्रहरीले उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । तर अहिले राईलाई नेपाल फर्काइएको भएपनि उनीविरुद्ध लगाइएको आरोपअनुसन्धानको क्रममा रहेको र पछि अदालतमा उपस्थित हुनुपर्ने सिक्किम प्रहरीले बताएको छ।
‘उमा चाम्लिङ राईविरुद्द परेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराइयो र पाँच दिनसम्म प्रहरी हिरासतमा राख्न अदालतको अनुमति थियो। हाल प्रारम्भिक अनुसन्धान प्रक्रिया पूरा भएपछि राईलाई नेपाल फर्काइएको छ,’ सिक्किम प्रहरी स्रोतले भन्यो।
डिसेम्बर ३० मा राईलाई पक्राउ गरेपछि सिक्किमका विभिन्न संगठन र राजनीतिक संगठनहरूले उनको गिरफ्तारीको विरोध गरेका थिए।
