काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जघन्य अपराधलाई पनि माफी दिनेगरी विधेयक ल्याएको आरोप लगाएका छन्।
सोमवार कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुको छलफलमा उनले यस्तो आरोप लगाएका हुन्।
उनले सरकारले केही नेपाल ऐन संशोधनको नाममा मुलुकको राजनीतिक प्रणालीप्रति असहमत समूहले गरेको हिंसात्मक गतिविधिबाट शान्ति प्रक्रियामा आउँदा पहिला गरेका सबै अपराधलाई उन्मुक्ति र माफी दिने ऐन ल्याएको आरोप लगाए।
उनले यस्तो ऐन संशोधनमा ल्याउनु आपत्ति र खेदजनक रहेको भन्दै सरकारलाई यस्तो सोच कहाँबाट आयो भन्दै प्रश्न गरे।
‘यति धेरै नेपाल ऐन संशोधनको कुरा गरिरहेका छौं। ६४ वटाभन्दा बढी ऐनहरुका संशोधन यसभित्र आए। कुन मन्त्रालयबाट कुन ऐन संशोधन गर्न लागिएको हो र किन संशोधन आवश्यक भयो भनेर सघन छलफल हुनुपर्छ। समिति गम्भीर बन्नुपर्छ‚ होइन भने जस्केलाबाट ऐनहरु बनाउने र विभिन्न स्वार्थ समूहका आवश्यकता पूरा गर्ने हिसाबले ऐनमा राख्नु उपयुक्त हुँदैन‚’ उनले भने‚ ‘कुनै पनि मुलुकको राजनीतिक प्रणालीप्रति कुनै समूह असहमत रहेको हिसाबमा हिंसात्मक राजनीतिक गतिविधिमा संलग्न भएर हिंसा मच्चाउने कुनै पनि शक्तिलाई शान्तिपूर्ण प्रक्रियामा आउँछु‚ मुलुकको कानून र संविधान मान्छु भनेर सरकारसँग सहमति गर्न तयार भयो भने जति नै अपराध गरे पनि उन्मुक्ति दिने र सजाय माफी दिने ऐन ल्याउन खोजिएको छ। यो अत्यन्तै आपत्तिजनक र खेदजनक छ। सरकारलाई यो सोच कहाँबाट आयो?’
