तुलसीपुर १७ पुस/ घोराही तुलसीपुर सडक खण्ड पुनः अवरुद्ध भएको छ । जनकल्याण माध्यमिक विद्यालय दुधरासका विद्यार्थीले फेरि सडकखण्ड अवरूद्ध गरेका छन्। सोमबार अपराह्न विद्यालयबाट फर्किएका कक्षा ३ पढ्ने ८ वर्षीय सागर चौधरीको बसको ठक्करबाट मृत्यु भएको थियो ।
भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिँदा सागरको घटनास्थलमा मृत्यु भएको थियो । ठक्करपछि विद्यार्थीहरूले इलाका प्रहरी कार्यालय तुलसीपुरको गाडी र बसमा तोडफोड गरेका थिए । लगत्तै उनीहरूले तुलसीपुर-घोराही सडकखण्ड अवरूद्ध गरेका थिए । पीडित पक्ष, प्रहरी प्रशासन र बस समितिका बीचमा सहमति भएपछि सडक मध्यराति खुलेको थियो।
मंगलबार पनि विद्यार्थीहरूले विद्यालय बन्द गरी सडक अवरूद्ध गरेका हुन् । विद्यार्थीहरूले सहमतिबारे जानकारी दिनुपर्ने माग राखेका छन् । अहिले विद्यार्थी र गाडीधनी, प्रहरी बिच छलफल भई रहेको छ । बालकको शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा राखिएको छ ।
