काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रले पनि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ। माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई उम्मेदवार छान्ने जिम्मेवारी दिएपछि प्रचण्डले उम्मेदवारको टुङ्गो लगाएका हुन्।
माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग÷अल्पसंख्य) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार चयन गरेको हो।
माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। सोही अनुसार प्रचण्डले आज उम्मेदवारको टुंगो लगाएको उनको सचिवालयले जनाएको छ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ।
