धरान । धरान उपमहानगरपालिकामा नगर प्रमुखको कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएकोमा राजनीतिक दलका भ्रातृ संगठनले फेरि राख्नका लागि शान्तिपूर्ण दबाब दिएका छन्।
मंगलवार धरानका राजनीतिक दलका भ्रातृ संगठनले नगर प्रमुख हर्कराज राईको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएपछि शान्तिपूर्ण र्याली गर्दै तस्वीर राख्न दबाब दिएका हुन्।
नगर प्रमुख राईले पुस १२ गते आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर पहिलो किराँती राजा यलम्बरको तस्वीर राखेपछि सिर्जना भएको विवादले पुस १३ गतेको कार्यपालिका बैठकसमेत स्थगित भएको थियो।
कार्यपालिका बैठकमा वडाध्यक्षलगायत कार्यपालिका सदस्यले पुनः राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्न अनुरोध गर्दा नगर प्रमुख राईले यस विषयमा सोचेर निर्णय गर्ने भनेपछि कार्यपालिका बैठक स्थगित भएको थियो।
नगर प्रमुख राईले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर पहिलो किराँती राजा यलम्बरको तस्वीर राखेपछि केही दिनदेखि राजनीतिक दलहरूले आपत्ति जनाउँदै आएका छन्।
