• ट्रेण्डिङ्ग :
‘मन्त्रीपरिषद् पुनर्गठनको तयारी’

‘मन्त्रीपरिषद् पुनर्गठनको तयारी’


  • 4.1K
    SHARES
    • पौष १८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.3K Views

    ‘मन्त्रीपरिषद् पुनर्गठनको तयारी’

    काठमाडौँ, पुस १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यशैली परिवर्तन गरेर नतिजामुखी काम गर्न मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा रहनुभएको छ । प्रधानमन्त्रीले त्यसको सङ्केत सरकारको कार्यकालको एक वर्ष पुग्दा नै दिइसक्नुभएको छ ।

    images

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले मङ्गलबार मन्त्रीहरू हेरफेर गरेर भए पनि सरकारको कामको गतिलाई अझ तीव्रता दिनेबारे छलफल भइरहेको तर निष्कर्षमा नपुगेको जानकारी दिनुभयो । 

    मन्त्रीहरू हेरफेरका लागि सत्ता साझेदार दलहरूको पनि सहमति चाहिने र राष्ट्रिय सभा सदस्यको निर्वाचन पनि आउन लागेकाले तत्काल परिवर्तनको सम्भावना भने कमै रहेको छ ।

    नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको देशव्यापी अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरू फेरबदल गरेर थप प्रभावकारी काम गर्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीपरिषद् पुनर्गठन गरेर भए पनि प्रधानमन्त्रीले जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी काम गर्न चाहनुभएको छ । यस विषयमा गठबन्धनमा र पार्टीमा छलफल भएको छ । निष्कर्ष आइसकेको छैन ।”

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटमा गठबन्धन दलहरूबिच छलफल भए पनि निष्कर्ष आइनसकेको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय सभाका गठबन्धनका लागि सिट बाँडफाँट र उम्मेदवार तय गर्न उच्चस्तरीय वार्ता जारी छ ।

    माओवादी केन्द्रले आफ्नो भागमा परेका सिटका लागि पार्टीभित्र अवसर नपाएका र घाइते, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिने गरी छलफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाटै सहभागी हुन्छौँ । माओवादीले अहिलेसम्म अवसर नपाएका, जनयुद्धका घाइते तथा अपाङ्गता भएका र सहिद परिवारलाई अवसर दिनु पर्छ भनेर छलफल भएको छ ।”   

    जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सफल भएको प्रवक्ता सापकोटाले बताउनुभयो । चारमहिने विशेष रूपान्तरण अभियानले जनता र पार्टीमा उत्साह ल्याएको बताउनुभयो । उहाँका अनुसार अभियानमा सङ्गठनहरू गठन र पुनर्गठन भएका छन् र पार्टी तथा मोर्चाका अन्तरविरोध हल भएका छन् । जनतासँग सम्बन्ध विस्तार भएको छ । माओवादीप्रति जनतामा आशा र भरोसा जगाएको छ । 

    उहाँले भन्नुभयो, “पार्टीमा नयाँ उत्साह पैदा भएको छ । जनतामा भरोसा जागेको छ । पार्टीबाट पलायन हुने क्रम रोकिएको छ । अन्य पार्टीबाट माओवादी प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको छ । सुशासन कायम गर्न र भ्रष्टाचारविरुद्धका अभियान निरन्तर गर्न जनताबाट सुझाव पनि आएको छ ।” 

    अर्को प्रसङ्गमा प्रवक्ता सापकोटाले सरकारको कामले जनस्तरमा उत्साह बढाएको दाबी गर्नुभयो । आर्थिक विकास नै प्रमुख रहेकाले आर्थिक क्षेत्रमा नयाँ ढङ्गले जाने तयारीमा सरकार रहेको उहाँले जानकारी दिनुभयो । 

    सरकारको एक वर्ष सामाजिक न्यायसहितको समृद्धि दिन प्रतिबद्ध रहेको प्रवक्ता सापकोटाले बताउनुभयो । कृषि अनुदान वास्तविक किसानलाई नगएको, अनेक बाहनामा जनतालाई भड्काउने गतिविधिहरू भइरहेको, युवामा आक्रोश र असन्तुष्टि बढिरहेकाले बालकुमारी घटनाको गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने सापकोटाले बताउनुभयो । 

    उहाँले भन्नुभयो, “बालकुमारी घटना स्वाभाविक छैन ।” गत शुक्रबार ललितपुरको बालकुमारीमा (इपिएस) परीक्षा सहभागिताका विषयमा आन्दोलन हुँदा दुई युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । 

     


    तेस्रो आँखा