मोरङ १९ पुस/ सुनसरीको लौकहीस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टको टोलीले स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल कोसी प्रदेशका प्रवक्ता तथा तथा एसएसपी रविनराज कर्णजितका अनुसार बुधबार भोक्राहनरसिंह गाँउपालिकाको लौकहीबाट २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो।
कोशी गाउँपलिकाका राउतले स्रोत नखुलेको रकम बोकेर हिँडिरहेको सूचनाका आधारमा पक्राउ गरिएको हो। सशस्त्रका प्रदेश प्रवक्ता कर्णजितले पक्राउ परेका राउतको साथबाट प्रदेश १-०२-०५३ प १९५६ नम्बरको मोटरमाइकलसमेत बरामद गरेको छ।
इटहरीबाट इनरुवातर्फ गइरहेका अवस्था राउतलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा स्रोत नखुलेको रकम बरामद भएको एसएसपी कर्णजितले जानकारी दिए। उनको साथबाट १ हजार दरको ९ सय ४ चार, ५ सय दरको २ हजार ५ सय ४, १ सय दरको १९, २०, १० र ५ दरको समान एक थान नेपाली नोट बरामद भएको छ।
सशस्त्रका अनुसार बरामद भएको रकम अवैध हुण्डी कारोबारको हो। राउत हुण्डी कारोबारीका भरिया हुन् कि आफैं हुण्डीको कारोबार गर्छन् भन्ने यकिन भइ नसकेको सशस्त्रले जनाएको छ। पक्राउ परेका राउतलाई आवश्यक कारवाहीका लागि इटहरीस्थित राजश्व अनुसन्धानको कार्यालय बुझाएको छ।
