दमौली, २० पुस । राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ गाउँमा विकास र सुविधा पुगेपनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सृजना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गरेका छन् ।
तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै शुक्रवार राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौतारिने अवस्था रहेको गुनासो पनि गरे ।
उनले भने ‘अबका दुईचार वर्षमा यी सबै गाउँहरूमा कालोपत्रे सडक पुर्याउन हामी लागेका छौँ । म भन्छु, त्यो पनि पूरा गरिन्छ । तर, समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन् ? विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौतारिने हाम्रो हालत छ । आखिर किन भयो यस्तो ? यो प्रश्न म आफैसँग गरिरहेको छु । उत्तर पनि म सँगै छ । गाऊँमा सवैथोक पुग्यो तर ‘सम्मानजनक रोजगारी र आम्दानी’ को अवस्था बनेन ।’
राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलायन भएको उल्लेख गर्दै भने ‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरि मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो सहर पस्नुभयो । उतै बस्नु भयो । गाऊँको समस्या यही हो । अब आज देशको समस्या प्रतिभा पलायन, श्रम शक्तिको पलायन – मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ ।’
उनले हाम्रो संस्कृति र हाम्रो प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारहरूको विकास गरे गाऊँमै रोजगारी र आम्दानी आउँने बताए । पौडलले भने ‘हिमालबाट उर्लेर बग्ने हाम्रा नदीनालाबाट हजारौँ मेघावाट ऊर्जा उत्पादन गरी छिमेकमा समेत विक्री गरौँ, हामी यहीबाट धनी हुन्छौ । आफ्नो परिवार तडपाएर विदेशतिर भौँतारिन पर्दैन । आफ्नै नाभीको कस्तुरी सुगन्ध खोज्दै भिरभिरै लतारिनु पर्दैन । आफैले आफैलाई चिनौँ – गाऊँमुखी बनौँ – नेपालमुखी बनौँ, हाम्रो स्कुलमा पढाउने यही नै हो असली राष्ट्रवाद ।’
राष्ट्रपति पौडेलले शिक्षा ज्ञान, चेतना र देशको सर्वाङगिण विकासको आधारशीला भएको बताउँदै शिक्षाको साथसाथै जीवनको आदर्श उच्च बनाउने र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने नैतिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गरे । उनले भने ‘शिपबिना तथा आचरणबिनाको नागरिकबाट देश संवृद्ध हुन सक्दैन । त्यहि भएर सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर वृद्धि गरी सिपवान् र शीलवान नागरिक बनाउनेतर्फ हामी सबैको ध्यान जानुपर्छ भन्ने मलाई लाग्छ ।’
सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरूपको शिक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरूपको शिक्षा प्रदान गर्नेतर्फ अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाई थियो ।
