काठमाडौं २१ पुस/ आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धनका दलहरुले सिट संख्यामा आआफ्नो दाबी पेश गरेका छन् । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले राष्ट्रियसभा चुनाव हुने १९ सिटमा आफ्नो दलले पाउनुपर्ने सिट संख्या दाबी गरेका हुन् ।
बैठकमा सहभागी स्रोतका अनुसार कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४/४ सिटमा दाबी गरेका छन् । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।
नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार राष्ट्रियसभामा अहिले अवधि सकिएका सदस्य संख्या, प्रदेशगत रुपमा दलहरुको मतभार आदिका आधारमा सिट संख्या तय हुनेछ ।
