काठमाडौं २२ पुस/ राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक आइतबार पनि बसिरहेको छ । बिहान सवा ८ बजेदेखि प्रधानमन्त्री निवासमा बैठक बसिरहेको छ।
जारी बैठकले उम्मेदवारी बाँडफाँट टुंग्याउने महासचिव देव गुरूङले जानकारी दिए। स्रोतका अनुसार रिक्त १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले २ स्थान पाउने गरी प्रस्ताव अघि सारिएको छ।
त्यसमा एकीकृत समाजवादी सहमत हुन सकेको छैन। ठूला दुई दलले एकलौटी गर्न खोजेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठक बीचमै छाडेर बाहिरिएका थिए। एकीकृत समाजवादीले तीन सिटको ‘बटम लाइन’ अघि सारेको छ।
अध्यक्ष नेपाललाई राखेर प्रस्तावलाई अन्तिम रूप दिइने र गठबन्धनको बैठक बसेर निर्णय गर्ने गठबन्धनको तयारी छ। तीन सिट नै दाबी गरिरहेको जनता समाजवादी पार्टी पनि नेपाली कांग्रेस र माओवादी केन्द्रले अघि सारेको प्रस्तावमा सहमत छैन।
लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जनमत पार्टीले पनि भाग खोजेका थिए। उनीहरूले पनि सिट नपाउने पक्कापक्की भइसकेको एकीकृत समाजवादीका एक अर्काले भने। उनले शनिबार चार दल बसेर केही क्लस्ट मिलाउन मात्र बाँकी राखेर सहमतिको खाका तयार पारेको बाहिर आए पनि एकीकृत समाजवादीसँग त्यस विषयमा कुराकानी नभएको बताए।
कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्लस्टरमा भागबन्डा मिलिसकेको बैठकमा सहभागी एक कांग्रेस नेताले बताए। बाँकी स्थानमा पनि आइतबार कुरा मिल्ने उनको दाबी थियो।
