• ट्रेण्डिङ्ग :
गठबन्धनले ‘बाइकट’ गरेका दल : छुट्टै उम्मेदवारीदेखि समर्थन फिर्तासम्मको तयारीमा

गठबन्धनले ‘बाइकट’ गरेका दल : छुट्टै उम्मेदवारीदेखि समर्थन फिर्तासम्मको तयारीमा


  • 3.0K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.6K Views

    गठबन्धनले ‘बाइकट’ गरेका दल : छुट्टै उम्मेदवारीदेखि समर्थन फिर्तासम्मको तयारीमा

    काठमाडौँ । लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख घटकहरूबीच राष्ट्रियसभाको भागबण्डामा सहमति जुटेको छ। आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकबाट प्रमुख घटकबीच सहमति जुटे पनि गठबन्धनमै रहेका चार साना दललाई भने ‘बाइकट’ गरियो। 

    images

    गठबन्धनमा एमालेलाई पनि समेट्ने भनिए पनि अन्ततः सत्तारुढ दलहरूमध्ये पनि प्रमुख चार दलबीच मात्र सिट भागबण्डा भयो। सहमतिअनुसार कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई तथा जनता समाजवादी पार्टीले एक सिट पाएका छन्। 

    भागबण्डामा सहमत भएका दलहरूसँग बलियो मतभार छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग मात्रै करिब ६० प्रतिशत मतभार छ तर गठबन्धनमै रहेका डा. सिके (चन्द्रकान्त) राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा ‘बाइकट’ भए।

    यी दलहरू विपक्षी नेकपा एमालेसँग मिल्दा वा गठबन्धनबाटै बाहिरिए पनि सरकारलाई कुनै असर नपर्ने भएपछि ‘बाइकट’मा परेका हुन्। 

    फागुन २१ देखि पदावधि सकिने २० मध्ये १९ नयाँ सदस्य चयनका लागि ११ माघमा निर्वाचन हुँदै छ। तीमध्ये कोशी प्रदेशबाट दुई सदस्य चुनिनेछन्। गठबन्धनबाट ‘बाइकट’ भएका यी चार दलको मतभार कोशीमा शून्य छ।

    भागबण्डामा सामेल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासँग मात्रै झन्डै साढे ५ हजार मतभार छ। यी चार दलीय गठबन्धन प्रमुख विपक्षी एमालेभन्दा दुई हजार बढी मतभारले अघि छ।  

    यसैगरी मधेश प्रदेशबाट पनि दुई सदस्य चयनका लागि निर्वाचन हुँदै छ। मधेशमा लोसपाको ९३३, जनमतको ७४६ र नागरिक उन्मुक्तिको ५३ मतभार छ। जुन २ हजारभन्दा बढी मतभार रहेको एमालेसँग मिसिए पनि चार दलले उठाउने साझा उम्मेदवारलाई कुनै असर पर्ने छैन।

    भाग नपाएका दलहरू र एमालेको कुल मतभार ४ हजार ३४ हुन आउँछ तर चारदलीय गठबन्धनसँग ६ हजारभन्दा बढी मतभार छ। 

    बाइकटमा परेका दलहरूको मतभार बागमतीमा शून्य छ। भागबण्डामा सम्मिलित चारदलीय गठबन्धन भने ढुक्क छ। बागमतीमा यो चारदलीय गठबन्धनसँग साढे ६ हजार बढी मतभार छ भने एमालेको साढे दुई हजार मतभार छ। बागमतीबाट सबैभन्दा धेरै चारजना राष्ट्रियसभा सदस्य चयन हुँदै छन्। 

    यस्तै गण्डकीमा पनि चारदलीय गठबन्धन नै हावी छ। बाइकटमा परेका दलहरूमध्ये जनमोर्चाको ५७ बाहेक अन्य दलको मतभार छैन तर साझा उम्मेदवार उठाउन लागेका चारदलीय गठबन्धनसँग साढे ३ हजार बढी मतभार छ। एमालेको करिब साढे दुई हजार मतभार छ। गण्डकीबाट तीन नयाँ सदस्य चयन हुँदै छन्।

    बाइकटमा परेका दलहरूसँग लुम्बिनीमा ७ सयभन्दा बढी मतभार छ। झन्डै ३ हजार मतभार भएको एमालेलाई सघाए पनि यसले मतपरिणाममा कुनै असर पर्दैन। लुम्बिनीमा पनि भागबण्डामा सहभागी चारदलीय गठबन्धनको मतभार नै बलियो छ।

    यो गठबन्धनसँग लुम्बिनीमा साढे ४ हजारभन्दा बढी मतभार छ। लुम्बिनीबाट दुई सदस्य चयन हुँदै छन्।

    कर्णालीमा तीन सदस्य चुनिँदै छन्। कर्णालीमा पनि चारदलीय गठबन्धनसँग साढे तीन हजारभन्दा बढी मतभार हुँदा एमालेसँग ११ सय मतभार मात्रै छ।  

    उता सुदूरपश्चिममा भने बाइकटमा परेका दल नागरिक उन्मुक्तिको साथ नलिए चारदलीय गठबन्धनलाई टक्कर दिनसक्ने मतभार एमालेसँग छ। सुदूरपश्चिबाट तीनजना राष्ट्रियसभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ। 

    एक सिट नपाए आफ्नै उम्मेदवार उठाउने नागरिक उन्मुक्तिको तयारी 

    भागबण्डा गरेका दलमध्ये सुदूरपश्चिममा कांग्रेस र जसपाको मतभार शून्य छ। माओवादी र एकीकृत समाजवादीको कुल मतभार १ हजार ३६५ छ भने एमाले एक्लैको १ हजार ४८० छ। 

    यस्तोमा आफ्नो उम्मेदवार जिताउन चारदलीय गठबन्धनलाई ५०४ मतभार भएको नागरिक उन्मुक्तिलाई साथ लिनैपर्ने अवस्था छ। त्यहाँ स्वतन्त्रको ११० र राप्रपाको ५३ मतभार छ। राप्रपा र स्वतन्त्रको मतभार गठबन्धनलाई नै आए पनि नागरिक उन्मुक्तिले एमालेलाई मत हालेको अवस्थामा गठबन्धनलाई गाह्रो पर्ने देखिन्छ। 

    सुदूपश्चिममा निर्णायक दल भए पनि गठबन्धनले एक सिट पनि नदिएपछि नागरिक उन्मुक्तिले आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ। आफूहरूलाई एक सिट दिने आश्वासन आइरहेको भन्दै नपाएको अवस्थामा आफ्नै उम्मेदवार उठाउने नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले थाहाखबरलाई बताए।

    ‘हामी गठबन्धनभित्रको एउटा महत्त्वपूर्ण दल हो। हामीलाई एक सिट दिने भन्ने आश्वास आइरहेको छ। कांग्रेस वा माओवादीमध्ये एउटाले एक सिट दिने भन्नुभएको छ’, थाहाखबरसँग नेता चौधरीले भने, ‘यदि दिनुभएन भने नागरिक उन्मुक्तिले आफ्नै उम्मेदवार उठाउँछ।’ 

     

    के भन्छन् बाइकटमा परेका अन्य दल ? 

     

    सत्ता गठबन्धनबाट राष्ट्रियसभामा बाइकट गरिएका दल जनमतले ठूला भनिएका दलहरूमा पुरातनवादी सोचको दम्भ देखिएको बताएको छ। पार्टी उपाध्यक्ष एवं सांसद अब्दुल खाणले राष्ट्रियसभाका लागि चार दलबीच मात्र भएको भागबण्डा अस्वाभाविक रहेको टिप्पणी गरे। 

    ‘अहिले जुन गरेको भागबण्डा भयो। यो अस्वाभाविक‚ असुहाउँदो र दुःखद पनि छ। उहाँहरूले के सोचेर गर्नुभयो’,  भने, ‘उहाँहरूमा पुरातनवादी सोच देखियो। उहाँहरूमा जे छु मै छु भन्ने सोच हावी छ। यिनीहरू सानातिना हुन्‚ गए पनि फरक पर्दैन भन्ने सोच राख्नुभएको देखियो। हामी पर्ख र हेरको अवस्थामा छौँ।’

    सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने नेता खाणको संकेत छ। यद्यपि यसबारे पार्टीले निर्णय लिन बाँकी रहेको उनले बताए। सरकारमा सहभागी नभए पनि जनमतले प्रधानमन्त्री प्रचण्डलाई पुस १० यता निरन्तर समर्थन दिँदै आएको छ। सत्ता समीकरण फेरबदल हुँदा पनि उसले निरन्तरता समर्थन दिँदै आएको थियो।

    बाइकटमा परेको अर्को दल लोसपाले पनि एक सिटमा दाबी गरेको थियो तर पाइन्छ भन्नेमा धेरै आशावादी थिएन। यसको साटो अन्य कुनै ठाउँमा भाग पाउने आशा लोसपा नेता रामप्रकाश चौधरीले व्यक्त गरे। ‘दाबी चाहिँ एउटा थियो। पाइएन ठिकै छ’, उनले भने, ‘यसको सट्टा कहीँ कतै भर्ना हुन्छ।’

    यस्तै सरकारबाहिरबाटै सथर्मन गरिरहेको दल राष्ट्रिय जनमोर्चाले पनि राष्ट्रियसभाको भागबण्डामा खाली हात रहनुपरेको छ। जनमोर्चा अध्यक्ष एवं सांसद चित्रबहादुर केसी भन्छन्, ‘हामी व्यवस्था बचाउन गठबन्धनमा बसेका दल हौँ। कुनै भागबण्डा र लाभको पदका लागि होइन।’


    तेस्रो आँखा