काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको नामावली अनुसार ५ सय ४९ प्रदेशसभा सदस्य र स्थानीय तहका १४ सय ९८ प्रतिनिधि गरी कुल २ हजार ४७ जनाले राष्ट्रियसभा सदस्य चयनका लागि मतदान गर्ने छन् । प्रदेशसभा सदस्यतर्फ २९ हजार ५७ मतभार तोकिएको छ भने स्थानीय तहतर्फको मतभार २८ हजार ४ सय ६२ रहेको छ ।
यसरी प्रदेश र स्थानीय तह गरी कुलमतभार ५७ हजार ५ सय ५९ रहेको छ । प्रदेश सदस्यहरूको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको मतभार १९ रहेको छ । आयोगले मनोनयन दर्ताका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जनाको ६ वर्षे पदावधि फागुन २० गते सकिँदै छ । १९ जनाको निर्वाचन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।
राष्ट्रियसभाका १९ सदस्य चयन गर्न माघ ११ गते निर्वाचन हुनेछ । उनीहरूको कार्यकाल ६ वर्षको हुने छ । ५९ सदस्यीय राष्ट्रिय सभामा तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने र ५६ जना निर्वाचनबाट चयन हुने प्रावधान छ ।
