काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न गठित समितिको पहिलो बैठक आज बस्ने भएको छ ।
मंगलबार साँझ सत्ता गठबन्धनले नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमन रहेको समन्वय समिति गठन गरेको थियो।
उनका अनुसार आज दिउँसो २ बजे सिंहदरबारमा समितिको बैठक बस्दैछ। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सरकारमा सहभागी दलहरुले गठबन्धन गरेका छन् । १९ सिटमा हुने निर्वाचनमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी पार्टीले २ र जनता समाजवादी पार्टीले १ सिटमा उम्मेदवारी दिएका छन्।
राष्ट्रियसभा निर्वाचनका लागि सोमबार ५२ जनाले उम्मेदवारी दिएका छन्। सातवटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार कोशीमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८, लुम्बिनीमा ७, कर्णालीमा ६ र सुदूरपश्चिममा ६ जनाले उम्मेदवारी दिएका छन्।
