काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस वाग्मती प्रदेशको आयोजनामा जीपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
युनियनका संस्थापक स्वर्गीय गिरीजाप्रसाद कोइरालाको सम्झनामा हुन लागेको प्रतियोगितामा युनियनमा आबद्ध संस्थाका समान ११६–११६ पुरुष/महिला गरी २३२ खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक प्रजापति दाहालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष गणेश भट्टराईले जानकारी दिए ।
सबै स्पर्धामा नगद पुरस्कार रहेको प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख रुपैयाँ रहेको छ । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट पाँच लाख ६० हजार ८०० रुपैयाँ रहेको छ । दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।
