• ट्रेण्डिङ्ग :
विभेदकारी शिक्षा दिने स्कुलले सहयोग पाउँदैन : मुख्यमन्त्री कार्की

विभेदकारी शिक्षा दिने स्कुलले सहयोग पाउँदैन : मुख्यमन्त्री कार्की


  • 4.2K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.4K Views

    विभेदकारी शिक्षा दिने स्कुलले सहयोग पाउँदैन : मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अंग्रेजी र नेपाली माध्यमको नाममा विभेदकारी शिक्षा दिने कुनै पनि विद्यालयलाई प्रदेश सरकारले सहयोग नगर्ने बताएका छन्। 

    images

    महेन्द्र रत्न मावि बिर्तामोड-३ झापाको ६६ औँ वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपाली र अंग्रेजी माध्यमका नाममा हुँदा खाने र हुने खाने वर्ग‌ बनाउने विभेदकारी शिक्षा दिने काम तत्काल रोक्नुपर्ने बताएका हुन्। 

    ‘भाषा ज्ञान होइन माध्यम मात्रै हो,’ उनले भने, ‘विद्यालयमा धनीका छोराछोरीलाई अंग्रेजी र गरिबका छोराछोरीलाई नेपाली माध्यममा शिक्षा दिएर विभेद भइरहेको छ। अहिले लोकतान्त्रिक व्यवस्थामा कसैले कसैलाई विभेद गर्ने छुट कानूनले दिएको छैन।’

    हुनेखाने र कर्मचारी वर्गले गरिब विद्यार्थीका लागि राज्यले दिने छात्रवृत्ति हात पार्न सरकारी (सामुदायिक) विद्यालयमा अंग्रेजी माध्यमको विभेदकारी शिक्षा शुरू गरेको मुख्यमन्त्री कार्कीको आरोप छ। 

    ‘सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर नभएको भन्दै निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने हुनेखाने र कर्मचारी वर्गले किन सामुदायिक विद्यालयमा पढाउन थालेका छन्?,’ उनले भने, ‘निजीमा पढेका विद्यार्थीले उच्च शिक्षाका लागि सरकारले दिने छात्रवृत्ति नपाएपछि सामुदायिक विद्यालयमा नै अंग्रेजी माध्यममा पढाउन लगाएका छन्। तर त्यो अंग्रेजी माध्यममा गरिबका छोराछोरीले भर्ना पाउँदैनन्। उनीहरूका लागि त्यही विद्यालयमा नेपाली माध्यममा पढाएर विभेद गरिरहेको छ।’

    धनी र गरिब भनेर दिने शिक्षाले गरिब विद्यार्थीमा सम्मानको भावना विकास हुन्छ कि विद्रोहको मुख्यमन्त्री कार्कीले प्रश्न गरेका छन्।

    ‘विद्यालयले दिइरहेको विभेदकारी शिक्षाले हुँदाखाने र हुनेखाने वर्गबीच खाडल बनाउँदै छ,’ उनले भने, ‘विद्यालयको प्रांगणमा हुँदाखाने र हुनेखाने वर्गका लागि छुट्टाछुट्टै शिक्षा दिने विद्यालयलाई म हुँदासम्म प्रदेश सरकारले सहयोग गर्दैन।’

    विद्यालयले हुँदाखानेको पैसाले हुनेखाने वर्गलाई सहयोग गर्दै समान शिक्षा दिनुपर्ने उनको भनाइ थियो। पैसा अभावमा अब कोही गरिबका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुन नदिन प्रदेश सरकारले बजेट विनियोजन गरेको मुख्यमन्त्री कार्कीले बताएका हुन्।

    ‘डाक्टर बन्न चाहने गरिबका छोराछोरीको पैसा अभावमा पढाइ रोकिँदैन,’ उनले भने, ‘चिकित्सा, पशु, कृषि, कानूनलगायतका विषयमा गरिबका छोराछोरीलाई पढाउन छात्रवृतिको व्यवस्था गरेर प्रदेश सरकारले मानवीय विकासका लागि पाइला चालिसकेको छ।’

    ज्ञान बाँड्ने थलो विद्यालय अहिले सर्टिफिकेट बाँड्ने कार्यालयमात्र भएको भन्दै मुख्यमन्त्री कार्कीले चिन्ता व्यक्त गरे। ‘विद्यालय ज्ञान बाँड्ने थलो नै रहनुपर्छ र त्यसलाई ज्ञानको मन्दिर बनाइराख्नु हामी सबैको दायित्व हो,’ उनले भने, ‘सामुदायिक विद्यालयहरूको नेपाली माध्यममा भइरहेको पठनपाठन सर्टिफिकेट बाँड्ने कार्यालय मात्रै भएको छ।’

    एउटै विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा गुणस्तरीय छ तर नेपाली माध्यममा शैक्षिक वातावरण नै नभएको उनको भनाइ थियो। आखिर किन यस्तो विभेद? भन्दै उनले नेपाली माध्यमका सामुदायिक विद्यालयहरू हुनेखाने वर्गका बुहारी, स्वास्नी, छोरीहरूले जागिर खाने थलोका रूपमा विकास भइरहेकोप्रति चिन्ता व्यक्त गरे।

    ‘शिक्षकहरूले विद्यार्थीहरूलाई दिएको ज्ञानको परीक्षा विपद्को वेला हुन्छ, आगलागी भइरहेको वेला विद्यार्थी तथा युवा वर्गले फेसबुक लाइभ गरेर रमाइलो गरिरहेको देखिन्छ,’ उनले भने। अहिलेका विद्यार्थीहरूमा व्यावहारिक ज्ञानको अभाव रहेकाले समाज विकृत हुँदै गएको उनको भनाइ थियो।

    ‘अब विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारको विकल्प छैन,’ उनले भने, ‘त्यसैले भावी पुस्ताको भविष्य सुरक्षित गर्न हामी सबैले हातेमालो गरेर विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा जुट्नुको विकल्प छैन।’


    तेस्रो आँखा