दाङ, २८ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले इतिहासलाई सच्याएर ब्याख्या गर्न आवश्यक भएको बताउँदै मगर समुदाय सोझो मात्र नभएर सचेत समुदाय भएको बताएका छन् । मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल जिल्ला समन्वय समिति दाङले आयोजना गरेको माघे सकराती २०८० को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले यस्तो धारणा राखेका हुन् ।
केन्द्रीय सदस्य आचार्यले प्रश्न गरे, ‘नभए लखन थापा मगर कसरी निरंकुशताका बिरुद्धको लडाइँमा पहिलो शहीद भए ?” मगर समुदायको आफ्नो भाषा, लिपि र आफनै संस्कृति भएको बताउँदै आचार्यले राजनीतिक अधिकारसँगसँगै भाषा, लिपि र संस्कृतिको बिकास हुँदै जान्छ । खोसिएको राजनीतिक अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा प्राप्त भएको छ । संघीय गणतन्त्रको जग माओवादी आन्दोलन हो ।”
मगर समुदाय प्रकृति पुजक समुदाय हो भन्दै नेता आचार्यले मगर समुदायमा माघे सक्रान्तिमा प्रकृति र चेलीबेटी पुज्ने गरिएको बताए । उनले थपे, “त्यसैले माघे संक्रान्तिको महत्व छ ।”
नेता आचार्यले फरक प्रसङ्गमा माओवादीलाई चौतर्फी हमला भएको उल्लेख गर्दै भने, “संस्थागतरुपमा केही गल्ती भएको छैन । माओवादीले अनावश्यक संस्थागत आत्मालोचना गरिरहेको छ । संस्थागत आलोचनाको सिरानी हालेर ब्यक्तिगत कमजोरी र अपराधलाई ढाकछोप गर्ने प्रवृत्तिका विरुद्ध पार्टी संस्थागतरुपमै लाग्नुपर्छ ।” उनले समकालीन नेपाली राजनीतिमा सबैभन्दा क्रान्तिकारी पार्टी माओवादी भएको दावीसमेत गरे ।

कार्यक्रममा समुदायबाट शहादत प्राप्त गरेका परिवारका सदस्य, घाइते, योद्धा, जनमुक्ति सेनाका कमाण्डर र सदस्यहरुलाई सम्मान पनि गरिएको थियो । खलुप्रसाद पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिद्वय माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालमगर र भीमकुमारी बुढामगर, मगर राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय उपाध्यक्ष हरिमान पुनमगर, पार्टीको घोराही नगर कमिटी अध्यक्ष रमेश वली, मगर राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय कोषाध्यक्ष दयाजी रोकामगर, केन्द्रीय सदस्य डोमाकान्त कवँर मगर, मुक्तिमोर्चाका दाङ इन्चार्ज शारदा पुन, लुम्बिनी प्रदेश उपाध्यक्ष धनबहादुर बुढामगर, जेष्ठ कम्युनिष्ट मञ्चका मस्तबहादुर श्रेष्ठ, माओवादी केन्द्रको कलासाहित्य तथा संस्कृति विभागका केन्द्रीय सदस्य रामप्रसाद जैसी, पार्टीको प्रदेश सल्लाहकार समितिका संयोजक नरबहादुर अधिकारी र बुद्धिजीवी संगठनका प्रतिनिधि माधव न्यौपाने र मजदुर संगठनका अध्यक्ष सुमन रोकामगरले मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी जंगबहादुर पुन, वीरबहादुर आले, पार्टीको घोराही नगर समितिका सदस्य शक्तिराम डाँगी, नेपबहादुर रोकामगर, तोरणसिंह ठाडामगर, विष्णु पोख्रेल, झक्कुप्रसाद पुन, हुकुमबहादुर बुढाथोकी, सतबहादुर रोकामगर, तुलसी थापामगर लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
