सज्जन ढकाल
गुल्मी, १ माघ । गुल्मीको श्री दुर्गाभवन माध्यमिक विद्यालय कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङ छापचौरको विद्यालयमा सरस्वतीमाताको अपमान भएको छ । विद्याकी देवी सरस्वती माताको पूजा पवित्र मन्दिर विद्यालयको कार्यालयमा शिक्षक/शिक्षिकाहरु ‘अरेली काँडैले मलाई च्वास्स च्वास्स’ बोलको गीतमा मस्तसँग नाचिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
शिक्षक शिक्षिकाले शैक्षिक मर्यादा, शिक्षा ऐन, नियमावलीको धज्जी उडाउँदै कार्यालय कक्षमै नाचगान गरेपछि सरस्वती माता अपमानित भएकी हुन्, जसको पछिल्लो समयमा चौतर्फी आलोचना भइरहेको छ । उक्त भिडियो क्लिप तेस्रो आँखा डटकमलाई प्राप्त भएको छ ।
शिक्षा आर्जन गर्ने पवित्र पाठशालाभित्र शिक्षक/शिक्षिकाको अमर्यादित क्रियाकलापले सिङ्गो विद्यालयको गुल्मी जिल्लामै बदनाम भएको छ । पदीय मर्यादाको उल्लंघन गर्दै चर्चित गीत ‘अरेली काडैले मलाई च्वास्सै च्वास्सै’मा नाच्दै सरस्वती माताको अपमान गर्ने क्रियाकलापको सर्वत्र आलोचना भएको छ ।
विद्यालयको कार्यालयलाई रोदीघर बनाउनु दुःखद रहेको एक अभिभावकले बताए । यस विषयमा स्थानीय निकाय अनभिज्ञ रहेको स्रोतले जनाएको छ । नाचगान गर्नु गराउनु बेग्लै कुरा हो तर शिक्षकको पेशागत मर्यादालाई आँच पुग्ने गरी कार्यकक्षमै नाच्नु राम्रो होइन भन्ने स्थानीयको तर्क रहेको छ ।
