• ट्रेण्डिङ्ग :
यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राष्ट्रियसभामा मनोनीत गर्न माग

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राष्ट्रियसभामा मनोनीत गर्न माग


  • 11.7K
    SHARES
    • माघ १, २०८० सोमबार
    • २ बर्षs अघि
    • 18.0K Views

    यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राष्ट्रियसभामा मनोनीत गर्न माग

    काठमाडौं, १ माघ । राष्ट्रियसभामा रिक्त १९ सदस्य चयन गर्न ११ माघमा चुनाव हुँदैछ । ८ राजनीतिक दलबाट १९ सदस्यका लागि ५१ जनाको उम्मेदवारी परेको छ । तर, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको उम्मेदवारी शून्य छ । 

    images

    क्रियाशील कुनै पनि राजनीतिक दलले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई उम्मेदवार बनाएका छैनन् । अरू सबै समुदायको राष्ट्रियसभामा प्रतिनिधित्व भए पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुन सकेको छैन । 

    यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले सङ्गठित अभियान शुरु गरेको नै २३ वर्ष भइसकेको छ । तर, राज्यका निकायमा समुदायको प्रतिनिधित्वका लागि दबाब पुगेको छैन । राज्यका निकायलाई खबरदारी गर्न स्थापना भएको मायाको पहिचान नेपालले राष्ट्रियसभामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका एक सदस्यलाई मनोनीत गर्न राष्ट्रपतिसँग माग गरेको छ । 

    पहिलो संविधानसभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले राष्ट्रियसभामा कमसेकम एकजना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउन राष्ट्रपतिसँग माग गरे । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभा सदस्यमा एक जना मनोनीत गर्न पाउनेछन् ।

    उनले राष्ट्रियसभामा यो समुदायबाट एकजना भए पनि लैजान माग गरे । ‘कमसेकम एक जना यो समुदायलाई राष्ट्रपतिले मनोनीत गर्न सक्नुहुन्छ’, पन्तले भने, ‘यो समुदायको किन नराख्ने ? हाम्रो समुदायको कोही पनि छैनन् भनेपछि ।’

    यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई समावेश गराउन मायाको पहिचान नेपालले राजनीतिक अभियान सञ्चालन गर्ने पन्तले जानकारी दिए । समुदायका सदस्यलाई राजनीतिमा आउन पन्तले आव्हान पनि गरे । ‘गणतन्त्र र राजतन्त्रबारे बुझ्न आवश्यक छ । राजनीतिमा चासो लिएर आउन जरुरी छ’, पन्तले भने, ‘यहाँहरूले इच्छाएको पार्टीमा समावेश गराउन मायाको पहिचान नेपालले सहयोग गर्छ ।’

    मायाको पहिचान नेपालले सिंहदरबार पूर्वी गेटअगाडि अनामनगरमा सोमबारदेखि कार्यालय सञ्चालनमा ल्याएको छ । कार्यालयको उदघाटन गर्दै सिद्धी गणेश टोल विकास समितिका अध्यक्ष आरबी ठकुरीले माया गुरुङ र सुरेन्द्र पाण्डेले विवाह गर्नु अगाडि धेरै बाधा अड्चन भोग्नु परेको सुनाए । विवाह दर्ता हुन सफल भएको कारणले मायाको पहिचान नेपालको केन्द्रीय कार्यालय स्थापना भएको उनले बताए । ‘माया र सुरेन्द्रको विवाह गराउने सौभाग्य मिलेको थियो । विवाहमा बुबा बनेको थिए, ‘अध्यक्ष ठकुरीले भने, ‘धेरै संघर्ष गरेर मायाको पहिचान संस्था खोल्न सफल भएकोमा बधाई दिन चाहन्छु ।’

    समर्पण सभ्य समाजका सचिव हनि महर्जनले सुनिलबाबु पन्तकै कारण नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई विश्वसामु चिनाउन सजिलो भएको बताए । मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङले मन मिल्ने जीवनसाथीसँग विवाह गर्न पाउनु पर्ने बताइन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको आवाज नउठाउँदा सडकमा उभिनुपर्ने अवस्था आएको उनले बताइन् । 

    मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसी नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारको मुद्दालाई सशक्तरूपमा सफल बनाउन बलियो एजेन्डा बनाएर अगाडि बढ्ने बताए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्य टिना राईले सुनिलबाबु पन्तको नेतृत्वमा मायाको पहिचान नेपालले धेरै काम गर्ने विश्वास व्यक्त गरिन् । 

    समर्पण सभ्य समाजका स्वयंसेवक नमस्तिका श्रेष्ठसहित मायाको पहिचान नेपालको कार्यालय उदघाटनमा सहभागी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले अब हक अधिकारको आवाज बुलन्द हुने विश्वास व्यक्त गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # यौनिक तथा लैंगिक अल्पसंख्यक

  • तेस्रो आँखा