तुलसीपुर, १ माघ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गाउँको नाला बनाइदिएपछि स्थानीयले थारु नाचसहित स्वागत गरेका छन् ।
माघीको दिन गाउँको नाला निर्माणको अनुगमनमा पुगेका मन्त्री मास्कीलाई स्थानीयले थारु नाचसहित स्वागत गरेका हुन् । शान्तिनगर गाउँपालिका वडा नं. ५ बैसामा चालु वर्ष अर्थमन्त्री मास्कीले बजेट विनियोजन गरेपछि ५ सय मिटर नाला निर्माण भएको छ । नाला निर्माणले सडक स्तरबृद्धिका लागि ठूलो राहत भएको भन्दै स्थानीयले खुशी ब्यक्त गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले सोही ठाउँमा आवश्यकताका आधारमा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए ।

गुम्बा उद्घाटन
मन्त्री मास्कीले सोमबार शान्तिनगर १ मा निर्माण भएको बौद्ध गुम्बाको उद्घाटन गरेका छन् । मकर सक्रान्तिको अवसरमा शान्ति बबई बौद्ध विहार गुम्बाको उद्घाटन गर्दै मन्त्री मास्कीले ऐतिहासिक संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । त्यस अवसरमा शान्तिनगर १ का वडाध्यक्ष जंगबहादुर पुनले आफूले मगर संस्कृति संरक्षणका लागि संग्रहालय समेत बनाएको बताएका छन् ।
