काठमाडौं, ३ माघ । सरकारले नागरिक लगानी कोष, साँस्कृतिक संस्थान, नरदेवी आयुर्वेद चिकित्सालय र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका नेतृत्वका लागि नयाँ नियुक्ति गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले ती नियुक्तिहरु गरेको हो ।
नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । त्यसैगरी साँस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका किरणबाबु पुनलाई नियुक्त गरेको छ ।
त्यस्तै, नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गरेको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । आजको बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ ।
