• ट्रेण्डिङ्ग :
एमालेको सिको गर्दै ‘दबाव यात्रा’को तयारीमा रास्वपा

एमालेको सिको गर्दै ‘दबाव यात्रा’को तयारीमा रास्वपा


  • 2.6K
    SHARES
    • माघ ४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.1K Views

    एमालेको सिको गर्दै ‘दबाव यात्रा’को तयारीमा रास्वपा

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ पुस १ गते सम्पन्न भयो। पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट सुरु भई पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङ पुगेको दुई हप्ते यात्रामा अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष तहकै नेताहरू सामेल थिए। उक्त यात्रालाई एमालेले नागरिक र पार्टीबीच सम्बन्ध सेतुको रूपमा अर्थ्याएको थियो। 

    images

    एमालेको अभियान सकिएको एक हप्तापछि आफूलाई अन्य पुराना दलहरूभन्दा नितान्त फरक रहेको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि उही प्रकृतिको अभियान थाल्यो। ‘नारायणगढ–बुटवल पदयात्रा’ नाम दिएर रास्वपाले पुस १२ गतेसम्म तीनदिने अभियान चलाएको थियो, जसमा सभापति रवि लामिछाने स्वयं सहभागी थिए। 

    एमालेले आफ्नो प्रचारप्रसारलाई केन्द्रमा राखेर संकल्प यात्रा गरेको थियो भने रास्वपाको उद्देश्य भने ‘नारायणगढ-बुटवल सडकखण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने’ थियो। 

    रास्वपाले फेरि यस्तै किसिमको अर्को अभियान सञ्चालन गर्ने निर्णय बुधबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले गरेको छ। रास्वपा बैठकले ‘दबाव यात्रा’ नाम दिएको अभियान चलाउने भएको हो। कार्यक्रमको सम्भावित प्रारूप र मितिसमेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल पनि बनाइएको छ। 

    ‘जान्नेलाई छान्ने’ नारा दिएर गत निर्वाचनमा होमिएको रास्वपाले आफू पुराना तथा अहिलेका प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका दलहरूभन्दा हरेक हिसाबले फरक रहेको दाबी गर्ने गरेको छ। कतियप कुरा एमालेकै सिको गर्न थालेको छ। एमालेले सञ्चालन गरेकै प्रकृतिको अभियान पटक–पटक गर्न थालेपछि रास्वपा पनि उही पुरानै दलहरूको देखासिकीमा रमाएको टिप्पणी हुन थालेको छ।

    एमाले सचिव पद्मा अर्याल रास्वपामा नेताहरूको अनुहारबाहेक नयाँ केही नदेखिएको बताउँछिन्। नीति, विचार, योजना र कार्यक्रम कुनै हिसाबले रास्वपामा फरकपन नदेखिएको उनको टिप्पणी छ। ‘आफूलाई नयाँ भने पनि केही कुरामा नयाँपन देखिँदैन। अनुहार बाहेक विचार, नीति, योजना र कार्यक्रम केही नयाँ छैन’, सचिव अर्याल भन्छिन्, ‘एमालेका कार्यक्रम, नीति र विचार देखासिकी गर्ने मात्रै उहाँहरूको काम देखियो।’

    यसबाट नयाँ भनाउँदा दलहरूभन्दा पुरानै दलहरू सृजनशील छन् भन्ने पुष्टि भएको सचिव अर्याल दाबी गर्छिन्। ‘यसले के पुष्टि गर्छ भने एमाले जस्ता पुराना दल नै सृजनशील छन्। नयाँ विचार र नयाँ कार्यक्रम दिन्छन्’, उनले भनिन्, ‘तर यो देखासिकी गरेकोमा हामी खुसी छौं। उहाँहरूसँग नयाँ केही नभएका कारण हामीले जे गर्छौं त्यही प्रकृतिकको कार्यक्रम अर्को नाम दिएर गर्दै हुनुहुन्छ।’ 

    एमालेका अर्का सचिव योगश भट्टराई पुराना पार्टीहरूले आफ्नो लामो अनुभव र भोगाइबाट सिकेर गरेका कुरा नयाँ दलले सिक्नुलाई सकारात्मक रूपमा अर्थ्याउँछन्। ‘पुराना पार्टीहरूले लामो अनुभव र भोगाइबाट सिकेर गरेका कुरा नयाँ भनिएकाहरूले पनि अनुसरण गर्नु राम्रै हो’, उनी भन्छन्, ‘एउटै समाजमा रहिसकेपछि एकअर्काको कुरा सिक्ने सिकाउने हुन्छ। आपसी प्रतिस्पर्धा पनि हुन्छ।’ ​

    रास्वपाले अर्को चरणमा सञ्चालन गर्न लागेको ‘दबाव यात्रा’को उद्देश्य भने ‘निर्माण सुस्त भइरहेका आयोजनालाई समयमै सम्पन्न गराउनु’ हो। रास्वपाले दबाव यात्राका क्रममा योजना समयमै सम्पन्न नहुनुको कारण औंल्याएर सुझावसहितको ध्यानाकर्षण पत्रसमेत सम्बन्धित आयोजनाका निकायलाई बुझाउनेछ।

    रास्वपा महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल पुराना दलहरूभन्दा आफूहरू फरक रहेको दाबी गर्छन्। एमालेले दलीय स्वार्थपूर्तिका निम्ति अभियान चलाएको तर आफूहरूले आमजनतासँग प्रत्यक्ष जोडिएका विकास निर्माणमा भएका ढिलाइको मुद्दा उठाएर अभियान सञ्चालन गर्न लागेको बताउँछन्। ‘एमालेको यात्रा त एउटा जनतामा प्रचार गर्ने र संगठन विस्तार गर्ने स्वार्थको यात्रा थियो’, महामन्त्री ढकाल भन्छन्, ‘त्यसमा कुनै विकासे आयोजनाको सन्दर्भ समेटिएको थिएन। उहाँहरूले त्यो यात्रा गर्दा अलमलिएका र सम्पन्न हुन नसकेको विकासका आयोजनाका बारेमा कुनै चासो राख्नुभएन।’

    एमालेको संकल्प यात्रा राजनीतिक टीकाटिप्पणी र आरोप–प्रत्यारोपमै केन्द्रित भएको महामन्त्री ढकालको टिप्पणी छ। ‘उहाँहरूले राजनीतिक टीकाटिप्पणी र आरोप–प्रत्यारोप मात्रै गर्नुभयो। हामीले त विशुद्ध विकासे परियोजनाका कुरा मात्र गर्नेछौँ ’, उनले भने। 

    रास्वपाको दबाव यात्राको उद्देश्य र शैली पनि फरक रहेको डा. ढकालको जिकिर छ। ‘उहाँहरूले त गाडीको लावालस्कर लगाएर तामझामका साथ जनतालाई अप्ठेरो पार्दै बाटो जाम हुने गरी भीडभाड गर्नुभयो। यो भनेको पुरानाहरूको तरिका हो’, उनले भने, ‘हामीले त यसरी जनतालाई दुःख दिँदैनौं। त्यसकारण हाम्रो पूरै फरक हो।’

    जनताले जिताएर पठाइसकेको हुँदा अब उनीहरूलाई कुनै हिसाबले दुःख दिन नहुनेमा रास्वपाको जोड छ। तदनुरूप यसअघि ११३ किलोमिटर हिँडेर नारायणगढ–बुटवल पदयात्रा गरिएको महामन्त्री ढकाल बताउँछन्। 

    ‘तपाईँहरूले दबाव यात्रा गर्दैमा आयोजना निर्माणले कसरी गति लिन्छ ?’ भन्ने प्रश्नमा महामन्त्री ढकाल भन्छन्, ‘देशको विकास निर्माणमा प्रत्यक्ष जोडिने भनेको सरकार नै हो। प्रतिपक्षी दलको हैसियतले सरकारलाई झकझक्याउने र खबरदारी गर्ने हाम्रो धर्म हो। हाम्रो यात्राले दबाव कसरी सृजना हुन्छ भने हामी ढिलाइ भइरहेका आयोजनामा पुगिसकेपछि ती आयोजना निर्माणमा भइरहेको ढिलाइको कारण खोज्छौं‚ सोध्छौं र भन्छौं। त्यो कुरा आमसञ्चारमाध्यमले समेट्छन्। त्यो कुरा सरकारको कानसम्म पुग्छ। हामी आफैँले पनि ती विषयलाई सदन र समितिमा राख्छौं। जसबाट अन्य सांसदहरूको पनि ध्यान केन्द्रित हुन्छ। हामीले ठेकेदारदेखि अन्य सम्बन्धित पक्षलाई पनि समयै सम्पन्न गर्न एउटा खबरदारी गर्ने हो। जसले ढिलाइ भइरहेका आयोजनालाई गति बढाउन सकारात्मक दबाव सिर्जना गर्छ भन्ने विश्वास हामीलाई छ।’

    रास्वपाले सुस्ताइरहेका २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको छ। जसमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकलाई पहिलो नम्बरमा राखिएको छ। मेलम्ची खानेपानी आयोजना, धरहरा, तीनकुनेस्थित बागमती पुल, ग्वार्को फ्लाइओभर, काठमाडौं–मधेश द्रुतमार्ग, नागढुंगा–मुग्लिन सडक स्तरोन्नति, भेरी बबई डाइभर्सन, सिद्धबाबा सुरुङमार्ग, गौतमबुद्ध‚ पोखरा विमानस्थललगायतका आयोजना सूची समेटिएका छन्। 


    तेस्रो आँखा