काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहले आफूलाई विशेष अदालतबाट भ्रष्टाचार ठहर गर्ने निर्णयविरुद्ध सर्वाेच्च अदालत जाने बताएका छन् । अदालतले गएको पुस २५ गते तीन वर्ष जेल सजाय सुनाएको थियो । फैसलाको पूर्ण पाठ आएपछि न्यायका लागि सर्वोच्च अदालतमा पुनरावेदन गर्ने उल्लेख गरेका छन् ।
शाहले आफू ‘कसुरदार’ ठहरिए पनि न्याय पाउन नसके पनि न्याय प्रणालीमाथिको भरोसा नटुटेको उल्लेख गरेका छन् ।
विशेष अदालतले शाह र लेखापाल प्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरूलाई तीन–तीन वर्ष कैद सजाय तोकेको थियो । त्यसअतिरिक्त अदालतले दुवैलाई १६ लाख ६९ हजार ४२ रुपैयाँ ४४ पैसा दरले भ्रष्टाचार गरेको ठहर गरेको थियो ।
प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा २०७२ सालमा नक्कली नाम बनाएर कर्मचारीको तलब, रासनमा भ्रष्टाचार गरेको अभियोगमा उनीसहित त्यहाँ कार्यरत प्रहरी अधिृकतविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
उनीविरुद्ध २०७६ फागुन २० गते भ्रष्टाचारका मुद्दा दायर भएको थियो ।
उनले बिहीबार फेसबुकमार्फत जीवनभर प्रमाणको महत्वबारे हजारौँ शिष्यहरूलाई ज्ञान दिएको उल्लेख गरी वैज्ञानिक परीक्षणबाट स्थापित सत्य÷तथ्य पनि न्यायलयले प्रमाण नमानेको उल्लेख गरेका छन् ।
उनको भनाइमा, “नेपाल प्रहरीको तीस वर्षे व्यवसायिक जीवनमा मैले १५ वर्षभन्दा बढी प्रहरीका अधिकृत तथा जवानहरूलाई अपराध अनुसन्धान विषयमा प्रशिक्षण दिएँ । व्यावसायिक जीवनभर आफ्ना शिष्यहरूलाई प्रमाणको संरक्षण, संवर्द्धन र यसको महत्त्वबारे ज्ञान दिएँ, सिप सिकाएँ ।’’
उनले भौतिक सबुद प्रमाण सङ्कलन, संरक्षण, सम्वर्द्धन’ र ‘फोटोग्राफी’ शीर्षकहरूमा किताब पनि लेखेका थिए । त्यसअतिरिक्त आफूले तथ्य र प्रमाणहरूमाथि थुप्रै कार्यपत्रहरू पनि पेस गरेको उल्लेख गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, “नेपालमा मात्र नभई संयुक्त राष्ट्र सङ्घका मिसनहरूमा रहँदासमेत द्वन्द्वग्रस्त देशका प्रहरीहरूलाई प्रमाणको सुरक्षा गर्ने सिप सिकाउँदै त्यसको महत्वबारे ज्ञान दिएँ । तर, जीवनभर प्रमाणको
महत्त्वबारे हजारौँ शिष्यहरूलाई ज्ञान दिने म आज बल्ल थाहा पाउँदै छु– वैज्ञानिक परीक्षणबाट स्थापित सत्यतथ्य पनि हाम्रो न्यायलयका लागि प्रमाण हुँदो रहेनछन् ।”
उनले आफूले प्रमाणका लागि बुझाएको अडियो रेकर्ड पनि सार्वजनिक गरेका छन् । रेकर्डले अपराधमा आफ्नो संलग्नता नरहेको पुष्टि हुने जिकिर गरेका छन् ।
त्यसअतिरिक्त शाहले फेसबुकमा लेखेका छन्, “मैले प्रमाणकारुपमा अनुसन्धानकर्तालाई पेस गरेको अडियो रेकर्ड ! यो अडियो रेकर्डले उक्त अपराधमा मेरो कुनै पनि प्रकारको संलग्नता थिएन भन्ने तथ्यलाई स्थापित गर्छ र मेरो निर्दोषितालाई पुष्टि गर्छ ।”
उनले वैज्ञानिकहरुले प्रयोगशालामा परीक्षणबाट प्रमाणित गरेको तथ्यलाई प्रमाण मान्ने कि नमान्ने भन्दै प्रश्न पनि गरेका छन् । “सम्बद्ध विषयका वैज्ञानिकहरूले प्रयोगशाला परीक्षणबाट प्रमाणित गरेको तथ्यलाई प्रमाण मान्ने कि नमान्ने ?’’ उनको प्रश्न छ ।
‘‘यो कुनै व्यक्तिको इच्छामा भर पर्ने विषय हो वा सत्यतथ्यको सम्मान गर्नुपर्ला ?’’ भन्ने प्रश्न गर्दै उनको जिकिर छ, ‘‘यस्ता कुरा विद्वत् बहसबाट निरूपण हुनु आवश्यक छ । नत्र, विश्वमै उत्कृष्ट मानिएको हाम्रो लोकतान्त्रिक तथा न्यायिक समाज र मध्ययुगीन बर्बर समाजमा कुनै भेद रहने छैन । यस्ता गैरव्यावसायिक निर्णयबाट हामीजस्ता सचेत नागरिक त सिकार हुँदा रहेछौँ, आमजनमानसको अवस्था के होला ? यसैबाट प्रष्ट हुन्छ ।”
साहित्यकार समेत शाहका कथा संग्रह ‘छापामारको छोरो’को लागि उनले विसं २०६३ को मदन पुरस्कार पाएका थिए ।
