काठमाण्डौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘समर्पण सम्मान–२०८०’ बाट सम्मानित गरिएको छ । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरले मंगलबार एक कार्यक्रम आयोजना गरी श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो ।
नेपाली कांग्रेसका नेता डा. शेखर काइरालाले श्रेष्ठलाई प्रमाणपत्र एवं दोसल्ला ओढाइ सम्मान गरे । कोइरालाले सङ्घीयताको सफल कार्यान्वयनका लागि जनताको घरघरमा सरकार पुग्नुपर्ने बताए । मुलुकमा लोकतन्त्र स्थापित गर्न सुशासन एवं पारदर्शिता कायम गरी भ्रष्टाचार, दण्डहिनता अन्त्यका लागि सबै दल लाग्नुपर्नेमा उनले जोड दिए ।
२५ सय चिकित्सक विदेश पलायन भएका भन्दै कोइरालाले चिन्ता व्यक्त गरे । दक्ष जनशक्ति मुलुकमा बस्ने वातावरण मिलाउनुपर्ने उनको भनाइ छ ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सङ्घीयतामा जनतालाई लाभ र उपलब्धि दिनुपर्ने भन्दै लोकतन्त्रमा नागरिकका समस्याप्रति दल गम्भीर भएर समाधान गर्नुपर्ने बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले औद्योगीकरण, सञ्चार, शैक्षिक, पूर्वाधार विकास तथा राजनीतिक क्षेत्रमा पिताजी कृष्णप्रसाद कोइरालाको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे ।
