• ट्रेण्डिङ्ग :
नेपाल पाकिस्तानसँग पराजित

नेपाल पाकिस्तानसँग पराजित


  • 3.3K
    SHARES
    • माघ १०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.1K Views

    नेपाल पाकिस्तानसँग पराजित

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपालले पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको छ । 

    images

    बुधबार दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा पाँच विकेट गुमाएर भेटायो । 

    पाकिस्तानको जितमा अजान अवाइसले ६३ रन बनाए । उनले ८२ बलमा ६ चौका प्रहार गरे । सामयाल हुसेन र साहजैब खानले समान ३७ रन थपे । अहमद हसनले २९ र हरुन अर्सदले १५ रन जोडे । 

    नेपालका आकाश चन्दले तीन विकेट लिए । दीपेश कँडेल र आकाश त्रिपाठीले समान एक विकेट हात पारे । 

    त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रनको योगफल खडा गरेको थियो ।

    पाकिस्तानविरुद्ध नेपालका ओपनर विपीन रावलले ३९ रन बनाए । उनले ६८ बलमा चार चौका र एक छक्का प्रहार गरे । दीपक डुम्रेले २६ रन थपे । विपीन र दीपकले यसअघि न्युजिल्यान्डविरुद्धको खेलमा मौका पाएका थिएनन् ।

    यस्तै, नेपाली टिमको स्कोरबोर्डमा कप्तान देव खनालले २३ रन जोडे । सुवास भण्डारीले २० रन बनाउँदा आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन थपे । 

    यसअघि पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका ओपनर अर्जुन कुमाल भने आज ६ रनमा आउट भए ।

    नेपालविरुद्ध पाकिस्तानका अराफत मिनहारसले तीन विकेट लिए । १० ओभर बलिङ गरेका अराफतले दुई मेडन फ्याक्दै २३ रन खर्चिए । अहमेद हुसेन र उबैद साहले दुई–दुई विकेट लिँदा खुबइब खालिल, मोहम्मद जिसान र अली अस्फन्दले समान एक विकेट लिए ।

    प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

    प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । नेपालले अब समूह चरणको अन्तिम खेलमा जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।

    आजको खेलमा नेपालका ब्याटरले दौडिएरै पाँच रन बनाएका थिए । विश्व क्रिकेटमा दौडिएर पाँच लिएको दृष्य निकै कममात्र देख्न पाइन्छ । नेपालका आकाश चन्दले ४९औँ ओभरको पाँचौँ बलमा दौडिएरै पाँच रन ल्याएका हुन् । पाकिस्तानका मोहम्मद जिसानको बलमा आकाश र सुवास भण्डारीले दौडिएर पाँच रन ल्याए ।


    तेस्रो आँखा