काठमाडौँ । माघ ११ गते (भोलि) हुने राष्ट्रियसभा निर्वाचनको सबै तयारी पुरा भएको छ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि बिहीबार निर्वाचन हुँदैछ ।
बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई बताए ।
'भोलि गर्नुपर्ने काम भोलि नै गर्नुपर्छ । त्योभन्दा अगाडि गर्नुपर्ने सबै तयारी पुरा भएका छन्,' उनले भने, 'मतदान केन्द्रमा कर्मचारीहरु खटिसकेका छन्। मतदान केन्द्र निर्माण भइसकेका छन् । सबै राजनीतिक दलसँग गर्नुपर्ने बैठकहरु भएका छन् । हामी भोलि बिहानको ९ बजेको प्रतीक्षामा छौँ ।'
उनका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई दुई वटा मतदान केन्द्र स्थापना गरिएको छ ।
प्रदेशसभा सदस्यका लागि एउटा र पालिका प्रमुख उपप्रमुखका लागि एउटा गरी हरेक प्रदेशमा दुई दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको पौडेलले बताए । सातै प्रदेशमा हुने निर्वाचनका लागि ६३ जना कर्मचारी खटाइएको पौडेलले जानकारी दिए । 'राष्ट्रियसभा निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय हाम्रो स्थायी संरचना भयो । राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा निर्वाचनको कार्यालय स्थापना भएको छ । जिल्ला न्यायाधीशको नेतृत्वमा सबै निर्वाचन केन्द्रमा ९-९ जना कर्मचारीको व्यवस्था गरिएको छ,' उनी भन्छन्, 'तीन जना कर्मचारी प्रदेश निर्वाचन कार्यालयकै छन् । पाँच जना कर्मचारी मात्रै अन्य छन् ।'
निर्वाचन हुने कलस्टर अनुसार कम्तीमा ७ र बढीमा १० जना कर्मचारी एउटा मतदान केन्द्रमा रहने पौडेलको भनाइ छ । भोलि बेलुकका ७ बजेसम्म मतपरिणाम आइसक्ने निर्वाचन आयोगको अपेक्षा छ ।
'भोलि दिउँसो तीन बजे निर्वाचन सकिन्छ । एक डेढ घण्टा कागजपत्र, मुचुल्का लगायतको औपचारिकता पुरा गरिन्छ । राजनीति दल र उम्मेदवारका प्रतिनिधि बसेर केही छलफल गर्ने काम गर्छन् । त्यसपछि मतगणना सुरु हुन्छ । भोलि बेलुका ६ ७ बजेसम्ममा नजिता आइसक्ने आयोगको अपेक्षा छ,' उनले भने ।
पौडेलका अनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र पालिका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।
